११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

रबिले फाष्टट्र्याकबाट ल्याएको नागरिकको विवरण प्रमाणीकरण आबद्धतासम्बन्धी कार्यविधि खारेज



सरकारले राष्ट्रिय परिचय–पत्र व्यवस्थापन सूचना प्रणालीमार्फत सुरक्षित तवरले नागरिकको विवरण प्रमाणीकरण एवं अन्तरप्रणाली आबद्धतासम्बन्धी कार्यविधि खारेज गर्ने भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयबारे जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भने, “व्यक्तिका डाटा, राष्ट्रको सुरक्षा सबै हिसाबले गर्दा राष्ट्रिय परिचयपत्रसँग सम्बन्धित कार्यविधि खारेज गर्ने र कसरी यो कार्यविधि बनेको हो, त्यससँग समग्र विषयमा आवश्यक छानबिन गर्ने भन्ने निर्णय आजको मन्त्रिपरिषद्को बैठकले गरेको छ ।”

तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय परिचयपत्रमा अभिलिखित नागरिकका वैयक्तिक र जैविक विवरण रुजु गर्न निजी कम्पनीलाई ठेक्का दिएका थिए । उनी गृहमन्त्री भएको तेस्रो दिन कार्यविधि पास गरेर पदबाट बर्खास्त हुनु अघिल्लो दिन ठेक्का दिएका थिए ।

उक्त कम्पनीले १० वर्षमा सर्वसाधारण नागरिकबाट कमिसनबापत एक अर्ब उठाउने प्रस्तावसहित उक्त ठेक्का पाएको हो । यसरी ठेक्का दिइदा सार्वजनिक खरिद ऐनविपरीत जम्मा सात दिनको बोलपत्र आह्वान गरिएको थियो ।

३२ दिन गृह मन्त्री बनेका लामिछानेले दिएको उक्त ठेक्का रद्द गरिएको छ भने छानविनको लागि तीन सदस्यिय समिति पनि गठन गरिएको छ । साथै ठेक्का पाएको कम्पनीले राखेको एक करोड रुपैयाँ धरौटी पनि जफत गरिएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  १२ : ५३ बजे