प्रतिनिधिसभामा २०८०/८१ को लागि विनियोजित बजेट बहुमतबाट पारित भएको छ । संसदमा बजेटमाथि मतदान भएको यो पहिलो पटक हो ।
बुधबार आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयक पारित गर्न मतदान गरिएको थियो । नेकपा एमालेले मत विभाजन माग गरेपछि भएको मतदानमा २५५ सांसदमध्ये विनियोजन विधेयकको पक्षमा १४७ मत पर्यो । जुन प्रतिनिधिसभाको बहुमत हो ।
प्रतिनिधिसभाका कुल २७५ सदस्यमध्ये २५५ जना मतदानमा सहभागी भएका थिए । तीमध्ये १०८ जनाले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्तावको विपक्षमा मतदान गरेका थिए ।
सभामुख देवराज घिमिरेले विनियोजन विधेयक निर्णयार्थ पेश गर्ने तयारी गरेका बेला एमाले सचेतक महेशकुमार बर्तौलाले मत विभाजन माग गरेका थिए । उनले प्रतिनिधिसभामा हुन्छ भन्ने (बजेट पारितको पक्षमा रहेका) भन्दा हुन्न भन्ने (बजेट पारितको विपक्षमा रहेका) सांसदको संख्या बढी छ भन्ने आफूहरुलाई लागेको भन्दै मतविभाजन माग गरेका थिए ।
प्रतिनिधिसभा नियमावली २०७९ को नियम २९ मा मत विभाजन सम्बन्धी व्यवस्था छ । जहाँ सभामुखको घोषणाप्रति कम्तीमा २८ जना सदस्यले आ–आफ्नो स्थानमा उभिई असहमति प्रकट गरेमा सभामुखले ‘हुन्छ’, ‘हुन्न’ र ‘मत दिन्न’ भन्ने सदस्यलाई विभाजन गरी मत संकलन गर्नुपर्ने भनिएको छ ।
यही व्यवस्था अनुसार ‘हुन्छ’, ‘हुन्न’ र ‘मत दिन्न’ भन्ने सदस्यलाई भिन्नाभिन्नै ढोकाबाट उपकक्ष (लवि) मा प्रवेश गराई वर्णानुक्रमानुसारको नामावलीमा दस्तखत गराएर विनियोजन विधेयकका विषयमा सदनले निर्णय लिएको हो ।