एक जना वकिलले उच्च अदालत पाटनमा कार्यरत नायब सुब्बालाई हातपात गरेको विषयलाई लिएर कानुन व्यवसायीले प्रदर्शन गरेपछि उपत्यकाको काम प्रभावित भएको छ ।
सोमबार नेपाल बार एसोसिएसनको आह्वानमा सर्वोच्च बार एसोसियसनसहित काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लामा कानुन व्यवसायीहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले सेवा लिन गएका कानुन व्यवसायीमाथि कर्मचारीबाट हातपात भएको तर उल्टै उनीमाथि झुटा मुद्दा लगाइएको भन्दै अदालतअघि प्रदर्शन गरेका छन् ।
कानुन व्यावासायीहरुको प्रदर्शनले सोमबार पनि अदालतहरूका काम प्रभावित भएका छन् । गत असार १३ गते बुधबार उच्च अदालत पाटनमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङ र कानुन व्यवसायी अमिर लामिछानेबीच विवाद भएको थियो । अधिवक्ता लामिछानेले उच्च अदालत पाटनको फाँटमा काम गर्ने तामाङसँग सक्कली मिसिल माग्दा विवाद भएको र लामिछानेले हातपात गरेको बताइएको छ ।
लामिछानेलाई १३ गते अदालत परिसरबाट पक्राउ गरेर आइतबार साँझ मात्रै प्रहरी हिरासतबाट साधारण तारेखमा रिहा भएका छन् । नासु तामाङले अधिवक्ता लामिछानेलाई कारबाहीका लागि अदालतमा पनि निवेदन दिएकी छन् ।
कानुन व्यवसायीले कर्मचारीले अधिवक्ता लामिछानेमाथि हातपात गरेपछि प्रतिकार गरेको बताएका छन् । कर्मचारीले भने अधिवक्ता लामिछानेले पहिले कर्मचारी तामाङमाथि कुटपिट गरेको बताएका छन् । शुक्रबारदेखि त्यो विवादले मुद्दाको सुनुवाइ हुनै सकेको छैन । आइताबार अदालतका कर्मचारीले आन्दोलन गरेको थियो ।