१९ मंसिर २०८१, बुधबार | Thu Dec 5 2024

ललिता निवास जग्गा प्रकरण: सञ्चार मन्त्रालयका सचिव राउतसहित थप तीन पक्राउ



सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् । काठमाडौंबाट विराटनगर जाने क्रममा रहेका राउतलाई आइतबार त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।

ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुछिएका उनलाई प्रहरीले यसअघि नै पक्राउ पुर्जी लिइसकेको थियो । २०६६/०६७ ताका प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखको निवास विस्तार गर्ने नाममा भूमाफियाको योजनाअनुसार अगाडि बढेको सट्टाभर्नासम्बन्धी निर्णयमा राउत शाखा अधिकृत हुँदा टिप्पणी उठाएका थिए ।

त्यही टिप्पणी सहसचिव, सचिव, मन्त्री हुँदै तहगत रुपमा सदर गरेर मन्त्रिपरिषद्मा पुर्‍याइएको थियो । त्यस बेला माधवकुमार प्रधानमन्त्री थिए । उपप्रधान तथा भौतिक तथा योजनामन्त्री विजय गच्छदार, सचिव दीप बस्न्यात तथा भूमि सुधार सचिव छविराज पन्त थिए ।

सट्टाभर्नामा नेपाल सरकारको नाममा रहेको करिब २५ रोपनी जग्गा हिनामिना भएको थियो । सोही प्रकरणमा मन्त्रालयबाट टिप्पणी उठाएका त्यस बेलाका शाखा अधिकृत राउत पक्राउ परेका हुन् । यो प्रकरणमा ५ पूर्वसचिवसहित ४ सयभन्दा बढी विरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ ।

राउतलाई पक्राउ गर्नुअघि आइतबार नै समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र नापी सर्वेक्षक ध्रुवप्रसाद अर्याल पक्राउ परेका थिए । घिमिरेले समरजंग कम्पनीका प्रमुखको रुपमा रहेको बेलामा सरकारी जग्गा दाबी गर्नुपर्ने समयमा दाबी नगरेका कारण हिनामिनामा उनको पनि संलग्नता रहेको प्रारम्भिक अनुसन्धानमा देखिएपछि प्रहरीले पक्राउ गरेको हो । अर्यालचाहिँ नापी अधिकृतको रुपमा जग्गा नापजाँचमा संलग्न थिए ।

यो प्रकरणमा जोडिएका पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, व्यापारी मिनबहादुर गुरुङलगायत ९ जनालाई प्रहरीले यसअघि नै पक्राउ गरी अनुसन्धान गरिररहेको छ । यो प्रकरणमा सार्वजनिक पदधारण गरेका झण्डै डेढ सयभन्दा बढी पदाधिकारी र कर्मचारीहरु जोडिएका छन् ।

ललिता निवासको १४२ रोपनी जग्गा हडप्ने कार्यमा संलग्न रहेको भन्दै यसअघि नै प्रहरीले कम्पनीका पूर्वप्रमुख रमेशकुमार पोखरेललाई पक्राउ गरिसकेको छ ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ५ : ३४ बजे