६ जेष्ठ २०८१, आइतबार | Mon May 20 2024

हामीलाई कुरा राख्नसमेत दिइएन: रवि लामिछाने



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभामा आफ्नो पार्टीको तर्फबाट कुराहरू समेत राख्न नदिइएको भन्दै आपत्ति जनाएका छन् । उनले प्रधानमन्त्रीले विवादास्पद अभिव्यक्ति दिएको विषयमा रास्वपाका आफ्नै अडानहरू रहेको भन्दै सो विषयमा प्रमुख प्रतिपक्षले जे बोल्यो, रास्वपाको कुरा पनि त्यही हो भन्ने भाष्य बनाइएको बताए ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको अभिव्यक्तिबारे स्पष्टीकरण माग गर्दै उनले भने, ‘रास्वपा प्रतिपक्षको भूमिकामा छ । हामी प्रतिपक्षमा हुनुका पनि आफ्ना मुद्दाहरू छन् । रास्वपा अरू कुनै दलको एजेण्डामा होइन, आफ्नै स्वतन्त्र अस्तित्व र मुद्दाहरूमा उभिएको छ । हामीमाथि प्रमुख प्रतिपक्षले जे बोल्यो, रास्वपाको भाष्य त्यही हो भन्ने किसिमको जालसाजीपूर्ण क्रियाकलाप भयो, यसमा हाम्रो आपत्ति छ । म यो कुरा सदनलाई स्मरण गराउन चाहान्छु ।’

उनले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै त्यसको खुलेर जवाफ दिनुपर्ने बताए । ‘उहाँलाई प्रधानमन्त्री बनाउन रास्वपाको सभापतिको हिसावले मेरो आफ्नै हस्ताक्षर छ, हामी त हाम्रै सार्वभौम संसद्ले उहाँलाई प्रधानमन्त्री बनाएको भनेर सोचिरहेका थियौँ, तर उहाँ आफैँले छिमेकीले प्रधानमन्त्री बनाएको भने जसरी अभिव्यक्ति दिदै हिड्नुभएको छ,’ उनले भने, ‘म प्रधानमन्त्रीलाई आफ्ना भनाइहरूमा सजग गराउन चाहान्छु । उहाँ कहिले के भन्नुहुन्छ, कहिले के भन्नुहुन्छ । कहिले बोल्नुहुन्छ, कहिले फिर्ता लिनुहुन्छ । उहाँलाई म आफ्ना भनाइहरूमा सजग हुन आग्रह गर्दछु ।’

उनले तीन दलले मात्रै मिलेर संसद्लाई बन्धक बनाउन खोजिएको बताए । ‘यो संसद्का धेरै कामहरू छन्, सदनमा यति धेरै कामहरू हुदा हुदै तीन दलको मुड चलेन भने संसद् नचल्ने भन्ने कुरा रास्वपा स्वीकार गर्दैन,’ उनले भने, ‘यसलाई तीन दलले बन्धक बनाउन मिल्दैन । हामी पनि प्रतिपक्षमा छौँ, हामी चुप लागेर बस्दैनौँ ।’

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  ६ : ०७ बजे