प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणबारे दुई देशबीच सैद्धान्तिक सहमति भए पनि भ्रमण भने तत्काल नहुने भएको छ । आवश्यक तयारी पूरा भएपछि मात्रै भ्रमणको मिति तय गरिने परराष्ट्रमन्त्री शिशिर खनालले जानकारी दिएका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शाह प्रधानमन्त्रीमा निर्वाचित भएपछि पठाएको बधाई सन्देशमा भारत भ्रमणको निम्तो दिएका थिए । त्यसको जवाफमा प्रधानमन्त्री शाहले ‘उचित समयमा भारत भ्रमण गर्ने’ उल्लेख गरेको मन्त्री खनालले बताए।
उनका अनुसार भारतीय विदेशमन्त्री एस जयशंकरसँग हालै भएको वार्तामा पनि प्रधानमन्त्रीको भारत भ्रमणबारे सकारात्मक छलफल भएको थियो। तर, भ्रमणको मिति तय गर्नुअघि आवश्यक तयारी अझै बाँकी रहेको उनले स्पष्ट पारे।
मौरिससमा आयोजित नवौँ हिन्द महासागर सम्मेलनको साइडलाइनमा भएको भेटवार्तामा नेपालका हालैका निर्वाचन, नयाँ सरकारका प्राथमिकता तथा द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको थियो। मन्त्री खनालले नेपालले आफ्नो परराष्ट्र नीति तथा नेपाल–भारत सम्बन्धका विभिन्न आयामहरूको समीक्षा गरिरहेको जानकारी भारतीय पक्षलाई दिएका थिए।
उनले नेपाल र भारतबीच गहिरो राजनीतिक, आर्थिक तथा जनस्तरको सम्बन्ध रहेको उल्लेख गर्दै प्राथमिकताहरू निर्धारणपछि विभिन्न संयन्त्रमार्फत संवादलाई सुदृढ बनाउने प्रस्ताव राखेका थिए। उक्त प्रस्तावलाई भारतीय पक्षले सकारात्मक रूपमा लिएको जनाइएको छ।
नेपाल र भारतबीच ४० भन्दा बढी द्विपक्षीय संयन्त्रहरू सक्रिय बनाउने र सहकार्यलाई थप सघन बनाउने विषयमा समेत सहमति भएको छ।
यसैबीच, प्रधानमन्त्रीस्तरको भ्रमणअघि भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण हुने सम्भावना रहेको छ। मन्त्री खनालका अनुसार उक्त भ्रमणले उच्चस्तरीय भ्रमणका लागि आवश्यक प्राविधिक तयारीलाई अगाडि बढाउनेछ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार विदेश सचिव मिश्रीको नेपाल भ्रमण एक महिनाभित्रै हुन सक्ने अनुमान गरिएको छ। त्यस क्रममा परराष्ट्रमन्त्री खनाललाई भारत भ्रमणको निम्तो दिइने र प्रधानमन्त्रीको भ्रमणअघि मन्त्रीस्तरीय भ्रमण हुन सक्ने सम्भावना पनि औंल्याइएको छ।
मन्त्रालयका अधिकारीहरूका अनुसार प्रधानमन्त्रीको भ्रमणअघि परराष्ट्रमन्त्रीले सम्बन्धित देशको भ्रमण गर्ने कूटनीतिक अभ्यास पुरानै परम्परा हो, जसअनुसार यसपटक पनि त्यस्तो तयारी हुन सक्ने देखिएको छ।
उक्त सम्मेलनकै क्रममा मन्त्री खनालले भुटान, बंगलादेश, मौरिसस र सिंगापुरका विदेशमन्त्रीहरूसँग पनि द्विपक्षीय भेटवार्ता गरेका थिए।









