२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

राहुल गान्धीको सांसद पद पुनर्बहाली



मोदी थरका व्यक्तिहरुलाई मानहानी गरेको आभियोगमा सांसद पद गुमाएका भारती कांग्रेसका नेता राहुल गान्धीको पद पुनर्वाहाली भएको छ । भारतीय सर्वोच्च अदालतले कांग्रेस नेता गान्धीको सजायमा रोक लगाएसँगै उनको सांसद पद पुनर्बहाली भएको छ ।

शुक्रबार अदालतले मोदी थर प्रकरणमा उनलाई यसअघि सुरतको तल्लो अदालतले तोकेको २ वर्ष कैदको सजाय रोकेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

सर्वोच्चले कांग्रेस नेता गान्धीमाथि यथेष्ट प्रमाणबिनै २ वर्षको सजाय सुनाइएको भन्दै उनको सजायमा रोक लगाएको हो । अदालतले गान्धीलाई त्यस्ता टिप्पणी गर्नुअघि विचार पुर्‍याउनसमेत आग्रह गरेको छ ।

सर्वोच्च अदालतले “यो कुनै एक व्यक्तिको मात्र विषय होइन; जति पनि व्यक्तिले राहुल गान्धीलाई संसद्‌मा पुर्‍याए‚ उनीहरूको अधिकार हननको विषयसमेत हो” भनेको बताइएको छ ।

यसअघि भारतको गुजरात उच्च अदालतले मानहानी मुद्दामा कांग्रेस नेता गान्धीको पुनरावेदन खारेज गरिदिएको थियो । सुरतको एक अदालतबाट दोषी ठहर भएका गान्धीले उक्त फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन गरेका थिए ।

सुरतको तल्लो अदालतका मुख्य न्यायिक मजिस्ट्रेटले २३ मार्चमा एक मानहानी मुद्दामा गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको थियो । अदालतको उक्त आदेशलगत्तै राहुलको सांसद पद गुमेको थियो । फैसला सुनाएको उक्त अदालत नगर तहको हो । गान्धीले त्यसविरुद्ध जिल्ला तहको सेसन कोर्टमा पुनरावेदन गरेका थिए । सुरत अदालतले पनि उनको पुनरावेदन खारेज गरे पनि जमानत भने दिएको थियो ।

भारतमा २ वर्षभन्दा बढी कैद सजाय पाएका सांसदको सदस्यता पद खारेज हुने कानुन छ । सन् २०१९ को चुनावी सभामा ‘सबै चोरको थर मोदी नै किन हुन्छ ?’ भन्दै दिएको भाषणका कारण उनीमाथि मानहानिको मुद्दा हालिएको हो ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ६ : २२ बजे