३० चैत्र २०८२, सोमबार | Tue Apr 14 2026

इरान–इजरायलबीचको घातक द्वन्द्व चौथो दिनमा, दुबै मुलुकमा ठूलो क्षति



इरान र इजरायलबीच चार दिनदेखि तीव्र रुपमा बढ्दै गएको सैन्य तनाव झनझन घातक बन्दै गएको छ । लगातारको आक्रमण र प्रतिआक्रमणका कारण दुबै मुलुकमा ठूलो जनधनको क्षति भएको छ ।

आज इरानले इजरायलको तेलशोधन केन्द्र र विद्युत् प्रसारण प्रणालीमा क्षति पुर्‍याउने गरी मिसाइल आक्रमण गरेको छ । इजरायली रक्षा सेनाले इरानका करिब एक तिहाइ मिसाइल प्रक्षेपण स्थलहरू नष्ट गरेको दाबी गरेको छ ।

इजरायली प्रधानमन्त्री कार्यालयका अनुसार, इरानले चार दिनको अवधिमा ३७० वटा ब्यालिस्टिक मिसाइल र सयौं ड्रोनहरू इजरायलमाथि प्रहार गरेको छ । तीमध्ये करिब ३० मिसाइल र ड्रोनहरू इजरायली भूमीमा प्रवेश गरेको बताइएको छ । इजरायली कारबाहीमा इरानको केरमानशाहस्थित मिसाइल निर्माण केन्द्र र एक अस्पतालमा समेत क्षति पुगेको पुष्टि भएको छ ।

इजरायली प्रधानमन्त्री कार्यालयले दिएको जानकारी अनुसार, हालसम्म इजरायलमा २४ जनाको मृत्यु भइसकेको छ भने ५९२ जना घाइते भएका छन् । तीमध्ये १० जनाको अवस्था गम्भीर रहेको छ । इरानको स्वास्थ्य मन्त्रालयका अनुसार, शुक्रबारदेखि हालसम्म कम्तीमा २२४ जना इरानी नागरिकको मृत्यु भइसकेको छ भने १२ सय भन्दा बढी घाइते छन् ।

इजरायली रक्षा मन्त्री इस्राएल काट्जले सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मा लेख्दै भनेका छन्, “तेहरानको अहंकारी तानाशाह अब कायर हत्यारा बनेको छ । तेहरानका बासिन्दाले यसको मूल्य चाँडै चुकाउने छन् ।”

इरानी राष्ट्रपति मासुद पेसेश्कियनले भने इरानी जनतालाई एकजुट हुन आह्वान गरेका छन् । उनले भनेका छन्, “हामीमाथि थोपिएको आक्रमणविरुद्ध इरानी जनता एक ठाउँमा उभिनुपर्छ। हामी आक्रमणकारी होइनौं ।” उनले आफ्नो देशको आणविक कार्यक्रमको पनि बचाव गरेका छन् ।

दुवै मुलुकले एकअर्काको राजधानी आसपासका बासिन्दालाई सैन्य संरचनाहरूबाट टाढा जान आग्रह गरेका छन् । इजरायली सेनाले तेहरानको तेस्रो जिल्ला खाली गर्न भनेको छ, जहाँ उनीहरूले ‘सैन्य लक्ष्यमाथि’ कारबाही गर्ने बताइएको छ ।

सीएनएनलाई एक क्षेत्रीय कूटनीतिज्ञले बताए अनुसार, इरानले ओमान र कतारमार्फत अमेरिकालाई भनिसकेको छ कि जबसम्म इजरायली आक्रमण बन्द हुँदैन र उनीहरूको जवाफी कारबाही पूरा हुँदैन, वार्ताको सम्भावना छैन ।

क्यानडामा जारी जी–७ सम्मेलनमा अमेरिका प्रतिनिधित्व गरिरहेका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल–इरानबीचको तनाव घटाउन जारी गररन लागिएको संयुक्त वक्तव्यमा हस्ताक्षर नगर्ने निर्णय गरेका छन् ।

अमेरिकाको उच्चतम यात्रा चेतावनी
संयुक्तराज्य अमेरिका सरकारले इजरायलमा रहेका आफ्ना कर्मचारी र परिवारजनलाई स्वेच्छाले बाहिरिन अनुमति दिँदै देशको यात्रा चेतावनीलाई ‘स्तर–४’ अर्थात् अत्यधिक खतरनाक क्षेत्रको रूपमा वर्गीकृत गरेको छ।

यस तनावपूर्ण स्थितिले मध्यपूर्वमा थप अशान्ति ल्याउने सम्भावना रहेको विश्लेषकहरूको भनाइ छ। दुबै पक्ष हालसम्म वार्ताको कुनै संकेत देखाएका छैनन्।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ११ : २६ बजे