३० चैत्र २०८२, सोमबार | Tue Apr 14 2026

उत्तर कोरियाको वोनसानमा बीस हजार अटाउने नयाँ ‘बीच रिसोर्ट’, के पर्यटकको लागि खुला होला?



उत्तर कोरियाले आफ्नो तटीय शहर वोनसानमा निर्माण गरेको वोनसान काल्मा बीच रिसोर्ट आगामी जुलाई १ देखि आन्तरिक पर्यटकका लागि खोल्ने तयारी गरेको छ । उत्तर कोरियाली सर्वोच्च ता किम जोङ उनले यो रिसोर्टबाट पर्यटन प्रवर्द्धन हुने अपेक्षा राखेका छन् । यद्यपि विदेशी पर्यटकका लागि कहिलेदेखि खुल्ने भन्ने विषयमा स्पष्ट जानकारी छैन ।

पूर्वी तटमा पर्ने वोनसान शहरमा रहेको यो रिसोर्ट सन् २०१९ मै सम्पन्न हुने लक्ष्य राखिएको थियो तर निर्माण ढिलाइ र कोभिड महामारीका कारण हालै मात्र निर्माण सकिएको हो । यो परियोजना करिब ४ किलोमिटर लामो समुद्री किनार क्षेत्रमा फैलिएको छ जसमा होटल, रेस्टुरेन्ट, सपिङ मल, वाटरपार्क लगायत सुविधा रहेको जनाइएको छ । यद्यपि, उत्तर कोरियाली राज्य सञ्चालित समाचार संस्था केसीएनए द्वारा गरिएको दाबीको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।

किम जोङ उन स्वयं वोनसानमा विलासी जीवन बिताउँदै हुर्केका थिए र त्यहाँ धेरै उच्चपदस्थ नेताहरूका निजी भिला रहेका छन् । उनले लामो समयदेखि यो क्षेत्रलाई पर्यटन गन्तव्यका रूपमा विकास गर्ने प्रयास गर्दै आएका छन् । यो क्षेत्र पहिले मिसाइल परीक्षणस्थलको रूपमा पनि प्रयोगमा ल्याइएको थियो ।

केसीएनएका अनुसार यो रिसोर्टमा एकै पटक २०,००० जना पर्यटक अटाउने क्षमता छ । रिसोर्टको उद्घाटन समारोहमा किम जोङ उन, उनकी छोरी किम जु ए र पत्नी री सोल जु पनि सहभागी भएका थिए । यो री सोल जुको सन् २०२४ को नयाँ वर्षपछि पहिलो सार्वजनिक उपस्थिति हो ।

रूसी राजदूत अलेक्जेन्डर माटसेगोरा र अन्य दूतावासका कर्मचारीहरू पनि समारोहमा सहभागी थिए । अनुमान गरिँदैछ कि यो रिसोर्ट रूसी पर्यटकहरूका लागि प्राथमिकता दिइएर खोलिनेछ, जसले हाल उत्तर कोरियाका केही भागमा यात्रा गर्न अनुमति पाएका छन् ।

उत्तर कोरिया दशकौंदेखि आणविक हतियार कार्यक्रमको कारण कडा अन्तर्राष्ट्रिय प्रतिबन्धको सामना गर्दै आएको छ र सैन्य तथा राजनीतिक प्रचारमा अत्यधिक खर्च गर्छ । पर्यटन एक वैकल्पिक आयस्रोतका रूपमा रहेको केही विश्लेषकहरूको बुझाइ छ । चीन र रूसबाट केही पर्यटक जाने गरे पनि अन्य देशका पर्यटकहरूका लागि यो देश अझै खुला भइसकेको छैन ।

पर्यटन कम्पनी योङ पाइनीयर टुरका सहसंस्थापक रोवान बेअर्ड भन्छन्, “हामीले अन्तर्राष्ट्रिय पर्यटन फेरि खुल्ने संकेतको रूपमा हेरेका थियौं, तर हाललाई त्यो सम्भावना देखिँदैन ।”

कोभिड महामारीका क्रममा उत्तर कोरियाले सन् २०२० को सुरुमै आफ्नो सीमा बन्द गरेको थियो र सन् २०२३ को मध्यतिरमात्रै केही प्रतिबन्ध खुकुलो बनाएको थियो । सन् २०२४ को सुरुतिर बेलायत, फ्रान्स, जर्मनी र अस्ट्रेलियाका केही पर्यटकहरू चीनबाट सिधा प्रवेश गर्न पाएका थिए, तर केही हप्तापछि विदेशी पर्यटन फेरि अचानक बन्द गरियो ।

पर्यटन कम्पनी उरी टुर्सुका निर्देशक एलियट डेभिसका अनुसार उत्तर कोरिया ‘असामान्य गन्तव्य’ रोज्ने पर्यटकका लागि ‘विशेष आकर्षण’ राख्दछ । उनले भने, “उत्तर कोरियाली सांस्कृतिक सन्दर्भभित्र तयार पारिएको बीच रिसोर्ट अनुभव गर्नु आफैंमा अनौठो यात्रा हो ।”

तर रोवान बेअर्डको भनाइमा भने वोनसान पश्चिमी पर्यटकका लागि मुख्य आकर्षण बन्ने सम्भावना कम छ । “प्योङयाङ, डीएमजे (डिमिलिटराइज्ड जोन), तथा कम्युनिस्ट वास्तुकलासम्बन्धी स्थलहरू नै अन्तर्राष्ट्रिय पर्यटकका लागि प्राथमिक गन्तव्य रहनेछन्,” उनले भने ।

केसीएनएले वोनसान काल्मा परियोजनालाई ‘देशभरका लागि एक महान र शुभ घटना’ भनेको छ र यसलाई ‘पर्यटनको नयाँ युगको पूर्वाधार’ को रूपमा चित्रण गरेको छ ।

यसैबीच, उत्तर कोरिया र रूसबीचको सम्बन्ध अझ बलियो बन्दै गइरहेको छ । पश्चिमी प्रतिबन्धहरूको सामना गरिरहेका यी दुई देशले केही दिनअघि राजधानीहरूबीचको सीधा रेल सेवा पनि पाँच वर्षपछि पुनः सञ्चालनमा ल्याएका छन् । उत्तर कोरियाले युक्रेनमा भइरहेको युद्धमा रूसका लागि सैनिक पठाएको समेत रिपोर्ट सार्वजनिक भइसकेको छ । – बीबीसीबाट

प्रकाशित मिति : २६ असार २०८२, बिहिबार  ५ : ४७ बजे