३ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025

को हुन् आयातोल्ला अली खामेनेई, कहाँ छन् उनी



इरान र इजरायलबीचको युद्ध उत्कर्षमा पुगेको बेलामा, एउटा नाम भने अझै पनि केन्द्रमा छ, आयातोल्ला अली खामेनेई । ८६ वर्षीय खामेनेई विगत तीन दशकभन्दा बढी समयदेखि इरानका सर्वोच्च नेताको रूपमा सत्तामा छन् । यद्यपि उनको सार्वजनिक उपस्थित घट्दै गएको छ, शक्ति भने अझै अटुट छ ।

इजरायली आक्रमणले इरानका उच्च सैन्य अधिकारीहरूलाई निशाना बनाइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले खामेनेईलाई पनि लक्षित गर्न सकिने संकेत दिएका छन्।

“हामीलाई ठ्याक्कै थाहा छ, उनी कहाँ छन्,” ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, “तर अहिलेको लागि हामी उनलाई मार्ने छैनौं।” नेतन्याहुले त यसो भनि सके, “उनीमाथि आक्रमणले युद्ध अन्त्य गर्छ, बढाउँदैन ।” यी भनाइहरूले खामेनेईको रणनीतिक प्रभाव कति गहिरो छ भन्ने देखाउँछ ।

क्रान्तिकारी मौलवीदेखि सर्वोच्च नेतासम्म
१९३९ मा मशहद शहरमा एक धार्मिक परिवारमा जन्मिएका खामेनेई मोहम्मद रेजा पहलवीको राजतन्त्रविरुद्धको आन्दोलनमा सक्रिय थिए । शाहको शासनमा पटक–पटक जेल परेका उनले क्रान्तिका नेता आयातोल्ला खुमैनीसँग घनिष्ठ सम्बन्ध राखे ।

१९७९ को इस्लामिक क्रान्तिपछि उनले इरानको नयाँ शासकीय संरचनामा महत्वपूर्ण भूमिका पाए । १९८० को दशकमा राष्ट्रपतिका रूपमा कार्यरत खामेनेई १९८९ मा खुमैनीको निधनपछी सर्वोच्च नेतामा चयन भए ।

सत्ताको केन्द्रबिन्दु
इरानको संविधान अनुसार सर्वोच्च नेता सरकारका सबै निकायभन्दा माथि हुन्छन् । खामेनेईले न्यायपालिका, सुरक्षा निकाय, राज्य सञ्चार माध्यम, र राष्ट्रपतिको उम्मेदवारी अनुमोदन गर्ने अधिकार राख्छन् । विदेश नीति, सैनिक नीति, र आणविक कार्यक्रमबारे अन्तिम निर्णय पनि उनीकै हातमा हुन्छ ।

खासगरी उनले इरानको क्षेत्रीय रणनीति निर्माण गरेका छन्, लेबनानदेखि यमनसम्मका मिलिसिया समूहहरूलाई प्रशिक्षण, हतियार, र आर्थिक सहयोग दिँदै अमेरिका, इजरायल र साउदी असरको सन्तुलन कायम राख्न खोज्दै आएका छन् ।

संकटको बीचमा नेतृत्व
खामेनेईको यो रणनीति अहिले विफलताको चरणमा छ । इजरायलले हालै इरानमाथि अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य आक्रमण गर्दै उच्च सैन्य र आणविक नेताहरूलाई मारिदिएको छ ।

इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण रहेको बताउँछ । खामेनेईले २००३ मा आणविक हतियार इस्लामविरुद्ध भएको भनेर ‘फतवा’ पनि जारी गरेका थिए । तर इजरायल र पश्चिमी मुलुकहरूले इरानले लुकी–छिपी आणविक बम बनाउन सक्ने क्षमता तयार गर्दै आएको आरोप लगाउँदै आएका छन् ।

गुप्त स्थानमा खामेनेई
खामेनेईको सुरक्षा अत्यन्त कडा राखिएको छ । उनको व्यक्तिगत सुरक्षाको जिम्मा क्रान्तिकारी गार्डको विशेष टोलीसँग हुन्छ । हाल उनलाई एउटा गोप्य स्थानमा सारिएको खबर छ, जहाँबाट उनी सैन्य नेताहरूसँग समन्वय गरिरहेका छन् ।

गत वर्ष पनि जब हिजबुल्लाहका नेता हसन नसरल्लाह मारिए, खामेनेई सुरक्षित स्थानमा सारिएका थिए । यसपटक पनि इजरायली आक्रमणपछि उनी सार्वजनिक रूपमा देखिएका छैनन् ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  १० : ५१ बजे