७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

हमासको कब्जामा रहेका विपिन रिहाइका लागि पहल गरिदिन कतारी प्रधानमन्त्रीलाई आग्रह



इजरालबाट गाजा क्षेत्रको मिलिटेन्ट समुह हमासले अपरहण गरेको नेपाली युवा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारसमक्ष नेपालले औपचारिक आग्रह गरेको छ ।

कतार भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउदले त्यहाँका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीसँगको शिष्टाचार भेटको क्रममा यो आग्रह गरेका हुन् ।

कतारको दोहामा भएको भेटमा दुईपक्षबीच व्यापार र लगानीका विषयमा, कतार फण्ड फर डेभलपमेन्टमार्फत् सहयोग, उच्चस्तरीय भ्रमण आदानप्रदानका साथै विपिन जोशीको रिहाइका विषयमा विशेष छलफल भएको मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् ।

जवाफमा कतारका प्रधानमन्त्रीले विपिनको रिहाइका लागि सबै प्रयास भइरहेको जानकारी दिएका छन् ।

विपिन गत असोज २० गतेदेखि हमास समूहको कब्जामा छन् । उक्त दिन इजरायमा हमासले गरेको आक्रमणमा परी इजरायलमा काम गरिरहेका १० नेपालीको ज्यान गएको थियो ।

इजरायली तथा अन्य देशकासहित १४ सयको हमासले हत्या गरेपछि इजरायले गाजामा गरेको आक्रमणमा परी १६ हजार भन्दा बढी प्यालेष्टाइनीको मृत्यु भइसकेको छ । इजरायलको आक्रमण जारी छ ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ५ : ३५ बजे