बक्सिङकी राष्ट्रिय खेलाडी नीता गोसाईंको आत्महत्यालाई शंकास्पद मानेर प्रहरीले अनुसन्धान सुरु गरेको छ । सशस्त्र प्रहरी बलको तर्फबाट बक्सिङ खेल्दै आएकी नीता भक्तपुर नगरपालिका–८ स्थित घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।
नीताले नवौँ राष्ट्रिय खेलकुदमा ५४ केजी तौल समूहबाट रजत पदक जितेकी थिइन्।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार नीता झुण्डिएको अवस्थामा भेटिएपछि दाइले डोरी काटेर निकालेका थिए । डोरी काटेर निकालेपछि उनैले प्रहरीलाई खबर गरेका थिए । नीताको रहस्यमय मृत्यु प्रकरणको अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ ।
नीताको मृत भेटिएपछि उनको परिवारले एकजना फर्निचर व्यवसायीविरुद्ध प्रहरी वृत्त, जगातीमा आत्महत्या दुरुत्साहनको कसूरमा जाहेरी दिएका छन् ।
प्रहरीले ती व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । शवलाई पोष्टमार्टमका लागि अस्पताल पठाइएको र उजुरी पनि परेकाले घटनाको थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।