२६ मंसिर २०८१, बुधबार | Wed Dec 11 2024

वीरगञ्जमा पनि अनिश्चितकालीन कर्फ्यू



रौतहटको इशनाथ नगरपालिकामा आइतबार भएको दुई पक्षीय झडपपछि वीरगञ्जमा पनि तनाव भएपछि जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकामा कर्फ्यू आदेश जारी गरेको छ ।

आइतबार इशनाथमा झडप भएको विषयलाई लिएर सोमबार वीरगञ्जमा पनि विरोध जुलुस भएपछि प्रमुख जिल्‍ला अधिकारी दिनेश सागर भुसालले कर्फ्यू आदेश जारी गरेका हुन् ।

वीरगञ्जमा पनि विरोध जुलुसको क्रममा विवाद र झडपको स्थिति उत्पन्न भएर सर्वसाधारणको सुरक्षामा जोखिम हुनसक्ने भन्दै प्रजिअ भुसालले कर्फ्यू आदेश जारी गररेका हुन् ।

सोमबार बेलुकी ५ बजेदेखि अर्को आदेश नभएसम्मको लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम कर्फ्यू आदेश जारी भएको हो। त्यस अबधीमा प्रदर्शन, भेला गर्ने, हिँडडुल गर्नेलाई कारबाही गर्ने चेतावनी समेत दिएको छ।

पूर्वमा नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मित्तेरीपुल (भन्सार क्षेत्र)लाई सीमा तोकेर कर्फ्यू आदेश जारी गरेको हो।

रौतहटको इशनाथ नगरपालिका-७स्थित घिउरा गाउँमा सरस्वती पूजाको मूर्ति बिसर्जन गर्ने बेलामा दुई समूहबीच ढुंगामुढा र लाठी हानाहान भएको थियो । दोहोरो झडपपछि स्थितिलाई नियन्त्रणमा लिन प्रशासनले सुरूमा वडा नम्बर ६ र ७ मा कर्फ्यू आदेश गरेको थियो । त्यसपछि प्रशासनले पुन: वडाहरू २, ३, ४ र ५मा पनि कर्फ्यू आदेश जारी गरेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  १० : २६ बजे