नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनहरूमा पार्टीको चुनाव चिन्हमा मात्र भोट हाल्ने व्यवस्था गरिने प्रस्ताव महासमिति बैठकमा पेश गरेका छन् । उनले त्यसका लागि अगामी चुनावहरुमा कसैसँग पनि गठबन्धन नगर्ने प्रस्ताव पेस गरेका छन् ।
मंगलबार पार्टीको महासमिति बैठकमा सांगठनिक प्रस्ताव पेस गर्ने क्रममा थापाले सबै निर्वाचन क्षेत्रमा कांग्रेसको चुनाव चिह्न रुखवाला मतपत्र हुने सुनिश्चित गर्नुपर्ने बताए । वर्तमान सत्तारुढ गठबन्धन संविधान रक्षाका लागि बाध्यात्मक अवस्थाको उपज भएको बताउँदै थापाले आगामी निर्वाचनमा भने कांग्रेस एक्लै चुनाव लड्ने प्रतिबद्धता महासमिति बैठकले गर्नुपर्ने प्रस्ताव राखेका हुन् ।
‘कांग्रेस यस महासमिति बैठकबाट पार्टीका तमाम सदस्य, सुभेच्छुक तथा आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै दृढ संकल्प गर्दछ कि हामी अब भविष्यमा हुने आवधिक निर्वाचनहरू आफ्नै तागतमा एक्लै लड्नेछौं,’ उनको प्रस्तावमा छ, ‘हाम्रो मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न रुखमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौं ।’
यसअघि थापाको यस प्रतिवेदनको उक्त अंशमा पार्टी सभापति शेरबहादुर देउवाले असन्तुष्टि जनाएका थिए । तर थापाको प्रतिवेदनमा वर्तमान सत्तारुढ गठबन्धनलाई भने प्रतिनिधिसभाको वर्तमान कार्यकालभर कायमै राख्नुपर्ने कुरा उल्लेख गरिए पछि देउवाले प्रस्थाव पेश गर्नको लागि अनुमति दिएका हुन् ।
थापाले चुनाव एक्लै लड्नका लागि कांग्रेसको संगठनलाई थप ऊर्जाशील बनाउँदै आम जनतामा कांग्रेसप्रति विश्वास जगाउनुपर्ने भनेका छन् । ‘हाम्रो आफ्नै संगठनलाई थप ऊर्जाशील बनाउँदै, आम जनताको विश्वास बढाएर कांग्रेसले एक्लै बहुमत ल्याउन सक्ने पार्टीको रूपमा पुनर्स्थापति हुनेछौं,’ थापाको भनाई छ ।
‘एउटा विशिष्ट राजनीतिक परिस्थितिमा संविधानको रक्षाको लागि कांग्रेसले निर्वाचन अगाडिको गठबन्धनको नेतृत्व गर्नपर्यो । गत निर्वाचनमा नेपाली कांग्रेसले पाँच वर्षको लागि गठबन्धनसहित मत मागेकाले यो अवधिसम्म जनतासँगको वाचा र अन्य साझेदार दलहरूसँगको सम्झौता बमोजिम राजनीतिक इमानदारिता प्रदर्शन गर्नुपर्छ भन्नेमा हामी सचेत छौं,’ थापाको प्रतिवेदनमा भनिएको छ ।
निर्वाचनपछि गठबन्धन गर्न सकिने तर सबै निर्वाचन क्षेत्रमा पहिले नै गठबन्धन गरेर उम्मेदवार नउठाउने प्रस्ताव थापाले ल्याएका हुन् । कुनै पनि दलले बहुमत प्राप्त नगरेको अवस्था नीति तथा कार्यक्रमका आधारमा गठबन्धन हुनसक्ने उनको प्रतिवेदनमा उल्लेख छ । ‘कुनै पनि दलले बहुमत प्राप्त नगरेको अवस्थामा निर्वाचन पछाडि निश्चित साझा नीति तथा कार्यक्रम बनाएर सरकार संचालनका लागि अन्य दलसँग तालमेल गर्ने कुरा चुनावपछाडि स्वाभाविक हुनसक्छ,’ थापाले भने ।