४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

लामो समयपछि पानी पर्यो, उच्च भागहरुमा हिमपात



लामो समयपछि मुलुकका विभिन्न भागमा पानी परेको छ भने उच्च भागहरुमा िहउ परेको छ । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी न्यून चापीय प्रणालीको प्रभावको कारण बिहीबार दिउँसो र साँझ देशका धेरै ठाउँमा वर्षा र हिमपात भएको जनाएको छ ।

काठमाडौँको चन्द्रागिरि, मकवानपुरको दामन लगायतका ठाउँमा बिहीबार साँझ हिमपात भएको छ । महाशाखाका अनुसार सबैभन्दा धेरै वर्षा पोखरामा भएको छ । कतिपय स्थानमा भने असिनासमेत परेको छ । पोखरामा ७ दशमलव ५ मिलिमिटर वर्षा भएको छ भने काठमाडौँ उपत्यकामा ३ दशमलव ६ मिलिमिटर वर्षा भएको छ।

पोखरापछि दाङको घोराहीमा ठूलो वर्षा भएको छ । त्यहाँ ५ दशमलव ८ मिलिमिटर वर्षा भएको छ भने सुदुरपश्चिमको डडेलधुरामा ३.२ र दिपायलमा ३ मिलिमिटर वर्षा भएको छ।

त्यसैगरी मधेश प्रदेशका केही जिल्लामा पनि छिटपुट वर्षा भएको छ। बागमती प्रदेशका कतिपय ठाउँमा असिनासहित वर्षा भएको छ । बिहीबार राति कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीकै अवस्था रहने महाशाखाले जनाएको छ ।

त्यसैगरी देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा राति हल्का हिमपातको पनि सम्भावना रहेको पनि महाशाखाको भनाई रहेको छ ।

शुक्रबारबाट भने देशको पश्चिमी क्षेत्रबाट मौसम क्रमशः सुधार हुँदै जाने अनुमान महाशाखाले गरेको छ। कोशी प्रदेशसहति देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने महाशाखाले जनाएको छ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  ११ : ५७ बजे