११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025

शालिनको पोष्टमार्टम रिपोर्टमा बलात्कार देखिएन



चितवनको रत्नगर नगरपालिका–१० स्थित शिशु निकेतन माविको छात्राबासमा झुण्डिएको अवस्थामा भेटिएकी १४ वर्षीया शालिन पोखरेलको ‘झुण्डिएको कारण’ मृत्यु भएको पोष्टमार्टम रिपोर्टले देखाएको छ ।

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा गरिएको पोष्टमार्टम जाँचको प्रतिवेदन चिकित्सकहरुले आइतबार तयार गरेका छन् । त्यसमा उनको झुण्डिएका कारण मृत्यु भएको उल्लेख रहेको प्रहरीले जनाएको छ ।

उनकी बाबुलगायत आफन्तले बलात्कारको आशंका गरेकाले चिकित्सहरुले शालिनको संवेदनशील अंगको पनि जाँच गरेका थिए । तर, पोष्टमार्टम जाँचमा शंकास्पद विषय नदेखिएको बताइएको छ ।

स्काउटको डोरीमा होस्टलको कोठाभित्र झुण्डिएको अवस्थामा १२ फागुनमा उनको शव भेटिएको थियो । लगत्तै काठमाडौंबाट उनका बुबालाई बोलाएर प्रहरीले मुचुल्का गरेको थियो । तर, परिवारले शंका गर्दै गम्भीर छानबिनको माग गरेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि घटनाबारे गम्भीर छानबिन गर्न प्रहरीलाई निर्देशन दिएको भन्दै शनिबार स्ट्याटस लेखेका थिए ।

बाबुको भनाईलाई उदृत गर्दै विभिन्न मिडिया र सामाजिक सञ्जालमा बलात्कारपछि हत्या गरिएको आशंकासहितको विषयहरु आएपछि प्रहरीले सत्यतथ्यविना हल्लालाई नपत्याउन अपील समेत गर्नु परेको थियो ।

साथै विभिन्न राजनीतिक दल तथा नेताहरुले समेत गहिरो छानविनको माग गरेका थिए । आइतबार संसदीय समितिले समेत सरकारलाई छानविनको लागि निर्देशन दिएको थियो ।

प्रहरीले भने पोष्टमार्टम रिपोर्टको नतिजा र घट्नाका बेला भेटिएको सुसाइट नोटको आधारमा आत्महत्याको संभावना बढी रहेको बताएका छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  ११ : ३३ बजे