सत्ता समिकरण बदलिएपछि नेपाली कांग्रेसले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
कांग्रेस नेताहरुका अनुसार दाहाल सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको हो । साथै कांग्रेसले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने पनि बैठकले निर्णय गरेको बताइएको छ ।
सोमबार मात्र प्रधानमन्त्री दाहालले कांग्रससँग एक वर्षभन्दा केही अघिदेखिको सत्ता साझेदारी तोड्दै एमाले र रास्वपालाई सरकारमा भित्र्याएको थियो । अघिल्लो वर्ष १० पुसमा बनेको गठबन्धन भत्किएपछि २५ फागुनको राष्ट्रपति निर्वाचनसँगै कांग्रेस र माओवादीबीच नयाँ गठबन्धन बनेको थियो ।
सोमबार नै एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाबाट डोलप्रसाद अर्याललाई विना विभागीय मन्त्री बनाइएको छ । साथै आठ बुँदै सहमति पनि गरेका छन् । सहमति अनुसार राष्ट्रिय सभाको अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेले लिने पनि निर्णय गरेको छ ।
मंगलबारदेखि मन्त्रायलहरुको बाँडफाँड तथा प्रदेश सरकारको नेतृत्व लगायतका विषयमा छलफल सुरु भएको छ ।