१० जेष्ठ २०८१, बिहिबार | Thu May 23 2024

त्रिशूलीमा बस खस्दा ७ जनाको मृत्यु



रूपन्देहीबाट काठमाडौं आउँदै गरेको सिद्धार्थ यातायातको यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा मृत्यु हुनेको संख्या ७ पुगेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका मध्ये ७ जनाको मृत्यु भएको हो ।

सिद्धार्थ यातायातको लु २ ख २१२१ नम्बरको बस बिहान ४:४० बजे धादिङको गजुरी गाउँपालिका-५ घाटबेशीस्थित सडकबाट सय मिटर तल त्रिशूली नदीमा खसेको थियो । ३८ जना घाइतेको उद्धार गरिएको थियो ।

मृत्यु हुनेमा १ जना महिला र ६ जना पुरूष छन् । घाइतेमध्ये केहीलाई काठमाडौं र चितवन पठाइएको छ भने केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

बस नदीमा आधा डुबेकाले मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीको अनुमान गरिएको छ । सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा जुटिरहेको छ।

बस चालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका –९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बसमा कति यात्रु सवार थिए भन्नेबारे यकिन नभएको र मृतकहरूको सनाखत नभएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ११ : ४४ बजे