१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

ठमेल र दरबारमार्ग भोलीदेखि सधै खुला



काठमाडौंको पर्यटकीय केन्द्र ठमेल र दरबारमार्ग भोली बैशाख १ गतेदेखि चौबीसै घन्टा खुला हुने भएको छ । लामो समयदेखि चर्चा चल्ने गरेपनि अब भने साँच्ची नै खुलाउन लागिएको हो ।

हालसम्म रात्रिकालीन व्यवसाय राति अबेरसम्म चल्ने गरेपनि पसलहरु भने १० बजेसम्म मात्र चल्ने गरेका थिए । तर अब भने दरबारमार्ग र ठमेलका सबै व्यवसाय २४ सै घण्टा खुला हुने बताइएको छ । यसको कार्यान्वयन नयाँ वर्ष २०८१ को उपहारको रुपमा आउन लागेको छ ।

ठमेललाई नेपालको राजधानी काठमाडौंको मुख्य पर्यटकीय केन्द्र हो र नेपाल आउने पर्यटक त्यहाँ पुगेकै हुन्छन् । तर सम्साँझै ठमेल बन्द हुँदा त्यसमा रौनकता हराएको थियो । ठमेलमा पर्यटकलाई लक्षित गरेर होटलहरु, रेष्टुरेन्टहरु, क्लब तथा अन्य मनोरञ्जनस्थलहरुका साथै पदयात्रा तथा पर्वतारोहणका लागि आवश्यक सरसामग्रीको पसल तथा ट्राभल एजेन्सी रहेका छन् ।

ठमेल २४ घण्टा खलेका विदेशी तथा स्वदेशी पर्यटकको आगमन बढ्ने र व्यवसाय पनि चम्किने व्यवसायीहरुको अपेक्षा रहेको छ । उनीहरुले मन्दीले थला परेको अबस्थामा यो निर्णयले केही राहत मिल्नेसमेत अपेक्षा गरेका छन् ।

ठमेल विकास परिषद्का अनुसार हाल ठमेलमा लगभग साढे ८ हजार विभिन्न किसिमका व्यवसाय सञ्चालित छन्, जसमा ६० हजारभन्दा बढीले रोजगारी पाएका छन् । चौबीस घन्टा चल्ने भएपछि व्यवसाय र रोजगारीमा पनि वृद्धि हुने अपेक्षा लिइएको छ ।

केही दिनअघि यही सम्बन्धमा भएको छलफलमा भने स्थानीयले यसको विरोध गरेका थिए । उनीहरुले ठमेल क्षेत्रमा आबास पनि भएको हुँदा यसले समस्या हुने बताएका थिए ।

दरबारमार्गमा पनि चौबीस घन्टा व्यवसाय चलाउन पाउने भएपछि व्यवसायीहरू खुसी छन्। पर्यटक आवतजावत भइरहने दरबारमार्गमा प्राय: राति ९/१० बजे नै पसल तथा होटल बन्द हुन्थे। अब दरबारमार्गको शालिकदेखि नारायणहिटी संग्रहालयसम्म दुवैतर्फका पसल चौबीसै घन्टा चल्ने छन्।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ४ : ५३ बजे