नेपाली कांग्रेसको समर्थनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्रपौडेल समक्ष प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् । राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरेका थिए ।
त्यसलगत्तै एमाले अध्यक्ष ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई साथ लिएर राष्ट्रपति कार्यालय शितलनिवास पुगेर प्रधानमन्त्रीमा आफ्नो दावी पेश गरेका हुन् । ओलीले संसद्को पहिलो दल कांग्रेसका ८८ र दोस्रो दल एमालेका ७७ गरी १६५ सांसदको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन् ।
संसद्का अन्य साना दलहरु जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टीसमेत कांग्रेस-एमाले गठबन्धन सरकारकै पक्षमा भए पनि ओलीले कांग्रेस र एमालेको मात्रै हस्ताक्षर लिएर प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् ।
शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा विश्वासको मत माग्दै राखेको प्रस्ताव प्रतिनिधिसभाबाट अस्वीकृत भएपछि उनी पदमुक्त भएका थिए । संसद् सचिवालयले दाहालले विश्वासको मत लिन नसकेको जानकारी राष्ट्रपति कार्यालयलाई गराएको लगत्तै राष्ट्रपति पौडेलले नयाँ सरकार गठनका विषयमा कानुनविद्हरुसँग छलफल गरेका थिए ।
संविधानको धारा ७६ (२) वा (३)मध्ये कुन उपधारा बमोजिम नयाँ सरकार गठन हुने भन्ने विषयमा बहसका बीच राष्ट्रपति पौडेलले संविधानविद्हरुसमेतको परामर्शमा संविधानको धारा ७६ (२) बमोजिमकै सरकार गठनका लागि आह्वान गरेका हुन् ।