७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

सर्वोच्चको निर्णयपछि कांग्रेसमा रणनीतिक ‘पर्ख र हेर’, एकता–विभाजन दुवै सम्भावना खुला



सर्वोच्च अदालत ले गगन थापा नेतृत्वलाई वैधानिकता दिएपछि नेपाली कांग्रेस भित्र शक्ति सन्तुलन फेरिएको छ। यससँगै शेरबहादुर देउवा पक्षले तत्काल कुनै कठोर कदम नचाली केही दिन ‘पर्ख र हेर’को रणनीति अपनाउने निष्कर्ष निकालेको छ।

शनिबार र आइतबार लगातार छलफल गरेको देउवा समूहले संस्थापन पक्षको व्यवहार हेरेर आगामी रणनीति तय गर्ने निर्णय गरेको हो। पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वमा भएको बैठकमा संस्थापनले ‘सम्मानजनक व्यवहार’ नगरे वैकल्पिक बाटो रोज्नुपर्ने धारणा समेत आएको नेताहरूले बताएका छन्।

उक्त समूहको बैठकमा पूर्व केन्द्रीय सदस्यहरूको धारणा लिँदै पार्टीभित्रको पछिल्लो अवस्थाबारे गम्भीर समीक्षा गरिएको थियो। छलफलमा विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंहलगायत नेताहरू सक्रिय देखिएका थिए। तर शेखर कोइराला पक्षका नेताहरू भने देउवा समूहको बैठकमा सहभागी भएनन्।

कोइराला पक्षले भने अदालतको निर्णय स्वीकार गर्दै पार्टी एकताको पक्षमा उभिएको छ। सो पक्षका नेताहरूले कांग्रेसको दीर्घकालीन हितका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका छन्।

देउवा समूहभित्र अदालतको निर्णय स्वीकारे पनि त्यसको व्याख्याप्रति असन्तुष्टि देखिएको छ। नेताहरूका अनुसार तत्काल नयाँ दल गठन गर्ने निर्णय नभए पनि आवश्यक परे त्यसका लागि तयारी गर्नुपर्ने आवाज उठेको छ। “अदालतको निर्णय मान्छौं, तर राजनीतिक लडाइँ बाँकी छ,” एक नेताले बताए।

यता सभापति गगन थापा पक्षले भने पार्टीभित्र भागबण्डाको राजनीति अन्त्य गर्ने संकेत दिएको छ। एक केन्द्रीय सदस्यका अनुसार अब प्रतिशतका आधारमा भाग खोज्ने प्रवृत्तिलाई निरुत्साहित गरिनेछ भने स्वच्छ छवि भएका र विवादमा नपरेका नेताहरूलाई समेटेर अघि बढ्ने नीति लिइनेछ।

पार्टी एकताको प्रयासस्वरूप सभापति थापाले नेता पूर्णबहादुर खड्का सँग भेटवार्ता समेत सुरु गरेका छन्। उनले वृहत्तर एकताका लागि वरिष्ठ नेताहरूसँग संवाद अघि बढाएको बताएका छन्।

यसैबीच, कांग्रेसभित्र १५औँ महाधिवेशनको तयारी पनि अगाडि बढाइएको छ। तर आयोजक समिति गठनदेखि नेतृत्वको शैलीसम्मका विषयमा अझै सहमति बन्न बाँकी छ।

देउवा पक्षले आगामी ७–१० दिन संस्थापन पक्षको व्यवहार मूल्यांकन गर्ने र त्यसपछि मात्र ठोस रणनीति सार्वजनिक गर्ने जनाएको छ। आवश्यक परे जिल्ला, प्रदेश र राष्ट्रिय स्तरका भेला गर्ने विकल्पसमेत खुला राखिएको छ।

कांग्रेसभित्र अहिले एकता, सम्मानजनक सहअस्तित्व वा थप ध्रुवीकरण—तीनै सम्भावना समानान्तर रूपमा अघि बढिरहेका छन्।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  ११ : ३२ बजे