७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

काठमाडौंका चामलमा ११ थरी विषादीको अवशेष भेटियो, स्वास्थ्य जोखिमको चेतावनी



काठमाडौं उपत्यकामा खपत हुने चामलमा विभिन्न ११ प्रकारका विषादीका अवशेष फेला परेको एक अध्ययनले देखाएको छ । परीक्षण गरिएका नमुनामा ढुसीनाशक, किटनाशक तथा मुसा मार्ने विषादीसहित केही प्रतिबन्धित रसायनसमेत भेटिएको प्रतिवेदनले जनाएको छ ।

काठमाडौंस्थित ‘प्रोग्रेसिभ सस्टेनेबल डिभेलपर्स नेपाल’ र भारतको ‘काउन्सिल अफ साइन्टिफिक एन्ड इन्डस्ट्रियल रिसर्च–इन्डियन इन्स्टिच्युट अफ टक्सिकोलोजी रिसर्च’ले संयुक्त रूपमा गरेको अध्ययन अनुसार उपत्यकामा प्रयोगमा रहेका चामलमध्ये ८३ प्रतिशत नमुनामा विषादीको अवशेष भेटिएको छ। त्यसमध्ये करिब ८० प्रतिशत नमुनामा दुई वा सोभन्दा बढी प्रकारका विषादी पाइएका छन् ।

अध्ययनले काठमाडौंका पसलमा पाइने चामलमा भक्तपुर र ललितपुरको तुलनामा बढी विषादी रहेको देखाएको छ। विशेषगरी गैरबासमतीको तुलनामा बासमती चामलमा विषादीको मात्रा झन्डै दोब्बर रहेको उल्लेख गरिएको छ। बासमती चामल महँगो हुने र किरासँग लड्ने क्षमता कम हुने भएकाले किसानले बढी विषादी प्रयोग गर्ने गरेको अनुसन्धानकर्ताहरूको भनाइ छ।

प्रतिवेदन अनुसार चामलमा प्रतिकेजी ५.०९ माइक्रोग्रामदेखि ३१२.५४ माइक्रोग्रामसम्म विषादीको घनत्व पाइएको छ। ट्राइसाइक्लाजोल, थाइमिथोक्जाम र टेबुकोनाजोलजस्ता विषादीको मात्रा युरोपेली युनियनले तोकेको सीमा भन्दा धेरै माथि रहेको जनाइएको छ।

दीर्घकालीन रूपमा यस्ता विषादीयुक्त चामलको सेवनले मानव शरीरमा विषादी संचित भई पेट, प्रोस्टेट तथा प्रजनन स्वास्थ्यसँग सम्बन्धित क्यान्सरजस्ता गम्भीर रोग निम्त्याउन सक्ने चेतावनी अध्ययनले दिएको छ।

अध्ययनमा नेपालमा प्रतिबन्धित क्लोरपाइरिफस, अल्फा–साइपरमेथ्रिन र प्रोफेनोफसजस्ता विषादीसमेत चामलमा भेटिएको उल्लेख छ। बजार अनुगमनमा कमजोरी र नियमनकारी निकायको प्रभावकारी नियन्त्रण अभावका कारण यस्ता विषादी अझै प्रयोगमा रहेको निष्कर्ष निकालिएको छ।

यता प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका अधिकारीले भने धानबाट चामल बन्ने प्रक्रियामा विषादीको अवशेष घट्ने दाबी गरेका छन्। तर प्रतिवेदनबारे विस्तृत अध्ययनपछि मात्रै थप प्रतिक्रिया दिन सकिने उनीहरूको भनाइ छ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  ११ : २९ बजे