१ भाद्र २०८३, सोमबार | Mon Aug 17 2026

सिमलताल दुर्घटना : पाँचौँ दिनसम्म १७ जनाको शव फेला, बस र बाँकी यात्रु अझै बेपत्ता



गत शुक्रबार मुग्लिन–काठमाडौं सडकखण्ड अन्तर्गत सिमलतालमा पहिरोमा परेर त्रिशूली नदीमा खसेको दुईवटा बस र अिधकांश यात्रुहरुको पाँचौं दिनसम्म पनि फेला पार्न सकेको छैन । दुर्घटनाका हराइरहेका ६२ मध्ये १७ जनाको शव फेला परे पनि ९ जनाको मात्र सनाखत हुन सकेको छ ।

सनाखत हुन बाँकी ८ जनामा ६ वटा पुरुष र २ वटा महिलाको शव रहेको छ । सिमलताल दुर्घटनामा दुवै बसका गरी ६२ यात्रु त्रिशूलीमा बेपत्ता भएका थिए । दुईवटै बस सुरक्षाकर्मीले अझै पत्ता लगाउन सकेका छैनन् ।

शुक्रबार भएको सो घटनापछि सोमबार (असार ३१ गते) मात्रै दुर्घटनाका ६५ जना यात्रु रहेको सार्वजनिक भएको थियो । त्यसमध्ये तीन जना सकशल भेटिएका थिए ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बाप्र०३००६ख नम्बरको एन्जल डिलक्समा २७ जना यात्रु रहे थिए भने काठमाडौंबाट गौर जाँदै गरेको प्र३००१ख २४९५ नम्बरको गणपति डिलक्समा ४१ यात्रु रहेका थिए । गणपति बसका तीनजना यात्रु हामफलेर बाँच्न सफल भएका छन् ।

हराएका बस तथा बेपत्ता यात्रुहरूको खोजी अझै जारी नै छ । दश दिनसम्म पनि बेपत्ताहरु नभेटिएमा सरकारले मरेको सरह राहत दिने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  ९ : ३७ बजे