२५ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025

संघीय शिक्षा विभाग विघटन गर्ने ट्रम्पको योजना, के अमेरिकी मान्यताहरु परिवर्तन होला?



अमेरिकाका राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले संघीय शिक्षा विभागलाई “विघटन” गर्ने योजना अघि सारेपछि तरंग पैदा भएको छ ।

यसले कस्तो असर पर्ला र उनी के चाहन्छन् भन्ने कुराको अनुमान लगाउन थालिएको छ । एपीका अनुसार उनले आफ्नो चुनावी अभियानका बेला शिक्षा विभाग “उग्रवादी, अतिवादी र मार्क्सवादीहरू” बाट भरिएको आरोप लगाएका थिए ।

ट्रम्पले त्यही विभागको नेतृत्व पूर्व रेसलिङ कार्यकारी लिण्डा म्याकमाहोनलाई चयन गरेका छन् । संघीय शिक्षा विभागको मुख्य भूमिका आर्थिक रहेको छ । यसले प्रत्येक वर्ष कलेज र विद्यालयहरूलाई अर्बौं डलर वितरण गर्दछ र संघीय विद्यार्थी ऋण व्यवस्थापन गर्दछ । विभाग बन्द गरियो भने यसको कामहरू अन्य संघीय निकायहरूमा हस्तान्तरण गर्नुपर्ने विज्ञहरुले बताएका छन् ।

शिक्षा विभागले हरेक वर्ष १.५ ट्रिलियन डलरभन्दा बढी विद्यार्थी ऋण व्यवस्थापन गर्छ भने यसको ४० मिलियनभन्दा बढी विद्यार्थी ऋणहरेका छन् । यसका अतिरिक्त विभागले कम आय भएका विद्यार्थीहरूलाई उपलब्ध गराइने पेल ग्रान्ट र एफएएफएसए कार्यक्रमको पनि व्यवस्थापन गर्छ ।

राष्ट्रपति जो बाइडेन प्रशासनले विद्यार्थी ऋण माफीलाई प्राथमिकतामा राखेकोमा ट्रम्पले त्यसको विरोध गर्दै “अवैध र अन्यायपूर्ण” भनेर आलोचना गरेका छन् । यद्यपी उनले विद्यार्थी ऋण व्यवस्थापनमा के कस्तो परिवर्तन गर्ने छन् भन्ने कुरा स्पष्ट छैन ।

त्यसैगरी शिक्षा विभागले नागरिक अधिकार कार्यालयमार्फत विद्यार्थीहरूको अधिकार संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । ट्रम्पले आफ्नो अभियानमा “जातीय आधारमा भेदभाव रोक्न” नागरिक अधिकारका मुद्दामा ध्यान केन्द्रित गर्ने बताएका थिए । उनले विविधता र समानताको नीतिहरूलाई “अवैध भेदभाव” का रूपमा व्याख्या गर्दै आएका छन् । साथै उनले समलिङ्गी र ट्रान्सजेन्डर विद्यार्थीहरूलाई प्राप्त संरक्षण हटाउने जनाइसकेका छन् ।

शिक्षण संस्थाहरूको मान्यताको व्यवस्थापनमा पनि ट्रम्पले परिवर्तनको योजना अघि सारेका छन् । उनले “वामपन्थी मान्यताकर्ताहरूलाई हटाउने” र “अमेरिकी परम्पराको संरक्षण” गर्ने नयाँ मान्यताकर्ता चयन गर्ने बताएका छन् । चुनावी अभियानका क्रममा ट्रम्पले संघीय स्तरको शिक्षा सहायता कार्यक्रमहरूलाई राज्यहरूमा स्थानान्तरण गर्ने कुरा गरेका थिए । यसले शिक्षामा संघीय नियमनको समाप्ति र राज्यहरूको भूमिकामा वृद्धि गर्ने ट्रम्पको दृष्टिकोणलाई झल्काउँछ ।

यद्यपी शिक्षा विभागको विघटन र नीतिगत परिवर्तनका लागि कानूनहरु संशोधन गर्नु पर्ने हुन्छ । संघीय सहयोग घटेमा कम आय भएका विद्यार्थी र संस्थाहरूलाई गम्भीर प्रभाव पर्ने सम्भावना छ । ट्रम्पको शिक्षा नीति अमेरिकाको शिक्षा प्रणालीको भविष्यमा ठूलो प्रभाव पार्न सक्ने विश्लेषकहरूले अनुमान लगाएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  ५ : २९ बजे