पाथीभरा केबलकार निर्माणलाई लिएर उत्पन्न विवाद समाधान गर्न गृह मन्त्रालयले गठन गरेको वार्ता समितिको औचित्यमाथि आन्दोलनरत समूहले प्रश्न उठाएको छ । उनीहरुले राजनीतिक विषय भएकाले कर्मचारीबाट नभई राजनीतिक तहको समिति बन्नुपर्ने माग गरेका छन् ।
किरात याक्थुम चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम एक्तेनले संघीय सरकारले लिएको पहललाई सकारात्मक रुपमा लिए पनि वार्ता समिति पोलिटिकल लेबलमा नआएकोले समस्याको समाधान हुन नसक्ने बताए । उनले वार्ताका लागि सरकारले न्यूनतम वातावरण पनि नबनाएको गुनासो गरे ।
आन्दोलनरत समूहले ताप्लेजुङमा पक्राउ परेका आफ्ना कार्यकर्ताहरुको रिहाइ र केबलकार निर्माण कार्य रोकिनु पर्ने माग राखेका छन् । उनीहरुले आफ्ना मागहरु पूरा नभए थप आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
यसअघि गत माघ १२ गते पाथीभरा क्षेत्रको बलुडाँडामा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो । झडपको क्रममा गोली चलेको थियो । गोली लागेर आन्दोलनरत समूहका दुईसहित पाँच र सुरक्षाकर्मीतर्फ २१ जना घाइते भएका थिए ।
यसैबीच, आन्दोलनरत समूहले कोशीका नौ जिल्लामा यातायात बन्द गराएका छन् । उनीहरुले आज सोमबारसम्म पनि माग सम्बोधन नभए मंगलबारदेखि नौवटै जिल्लामा आम हडतालको घोषणा गरेका छन् ।