१ कार्तिक २०८२, शुक्रबार | Sat Oct 18 2025

ट्रम्प परिवारको ‘अमेरिकामा बनेको’ स्मार्टफोन दावीमाथि विज्ञको शंका, व्यवसायिक नैतिकता पनि विवादमा



पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको नाममा प्रस्तावित नयाँ स्मार्टफोनलाई लिएर अमेरिकामा चर्को विवाद सुरु भएको छ । ट्रम्प संगठनले उक्त फोन “पूर्ण रूपमा अमेरिकामा निर्मित” हुने दाबी गरे पनि प्रविधि विज्ञहरू र नीति विश्लेषकहरूले त्यसप्रति गहिरो शंका व्यक्त गरेका छन् ।

सुनजस्तै रंगको उक्त ट्रम्प फोनको मूल्य ४९९ अमेरिकी डलर (करिब ६७ हजार नेपाली रुपैयाँ) तोकिएको छ । तर उद्योग विश्लेषकहरूका अनुसार अमेरिका भित्रै स्मार्टफोन निर्माण गर्नु “लगभग असम्भव” छ ।

जोन हप्किन्स विश्वविद्यालयका प्राध्यापक टिङलोङ डाईका अनुसार ट्रम्प संगठनसँग अझै फोनको प्रोटोटाइपसमेत छैन । “अमेरिकामा पूर्ण रूपमा फोन बनाउने कुरा अहिलेको अवस्थामा चमत्कार जस्तै हो,” उनले भनेका छन् ।

प्रविधि विश्लेषक लियो गेब्बीले पनि अमेरिकामा स्मार्टफोन बनाउन आवश्यक उच्च प्रविधियुक्त आपूर्ति श्रृंखला हालको अवस्थामा नै नभएको बताउँदै भने, “शायद फोनको पुर्जाहरू विदेशबाट ल्याएर अमेरिका भित्रै जडान गर्ने हो भने मात्रै यस्तो सम्भव हुन्छ ।”

विवाद केवल प्रविधिमा सीमित छैन । वाशिंगटनस्थित नागरिक उत्तरदायित्व तथा नैतिकता निगरानी संस्थाकी प्रवक्ता मेगन फकनरले ट्रम्प परिवारले पुनः राष्ट्रपति पदको प्रभाव प्रयोग गरेर व्यक्तिगत नाफा कमाउने कोसिस गरेको आरोप लगाइन् ।

“राष्ट्रपतिमा रहँदै गर्दा पनि ट्रम्प परिवारले नाफाका लागि आफ्ना ब्रान्ड प्रयोग गरिरहँदा यो अकल्पनीय छ,” उनले भनिन् ।

फोनको साथसाथै ४७.४५ डलर मासिक शुल्कसहितको मोबाइल सेवा पनि आउनेछ । यो शुल्क ट्रम्पका दुई राष्ट्रपति कार्यकालहरू — ४५औं र ४७औं — प्रतीकस्वरूप राखिएको बताइएको छ ।

ट्रम्प संगठनले फोन सेवा सञ्चालन गर्ने साझेदार कम्पनीको नाम खुलाएको छैन । घोषणामा भने “मेहनती अमेरिकीहरूलाई उनीहरूको मूल्य–मान्यतालाई प्रतिबिम्बित गर्ने, भरपर्दो र किफायती वायरलेस सेवा आवश्यक छ” भन्ने भनाइ समेटिएको थियो। अमेरिकी सैनिक परिवारहरूलाई अन्तर्राष्ट्रिय कल छुट दिने योजना पनि उल्लेख गरिएको छ ।

अमेरिकी मोबाइल बजारमा एटी एन्ड टी, भेराइजन र टी–मोबाइल जस्ता ठूला कम्पनीहरूको वर्चस्व छ । यी सबैले ४० डलर भित्रको मासिक सेवामा मोबाइल सुविधा दिन्छन् । त्यस्तै, साना कम्पनीहरू सस्तो दर र लक्षित ग्राहक समूहलाई ध्यानमा राखेर सेवा दिँदै आएका छन् ।

ह्यालीवुड स्टार रायन रेयनोल्ड्सको मिन्ट मोबाइल जस्तै उदाहरणहरूले प्रमाणित गर्छन् कि ठूला ब्रान्ड र विशिष्ट ग्राहक लक्षित सेवा भएमा सफलताको संभावना हुन्छ । तर ट्रम्प ब्रान्डको यो नयाँ प्रयास कति दूर जानेछ भन्ने विषयमा अझै अनिश्चितता छ ।

ट्रम्पको सबैभन्दा हालको आर्थिक विवरणअनुसार, उनले गत वर्ष ६०० मिलियन डलरभन्दा बढी आम्दानी गरेका छन् । ट्रम्प ब्राण्डका बाइबल, जुत्ता, घडी र परफ्युमहरूबाट मात्रै उनले करोडौं कमाएका छन् । फोर्ब्सका अनुसार उनको कुल सम्पत्ति ५.१ अर्ब डलर पुगेको छ, गत वर्षको तुलनामा दोब्बर ।

फोन सार्वजनिक घोषणापछि सामाजिक सञ्जालमा पनि मिश्रित प्रतिक्रिया देखिएको छ । केहीले तुरुन्तै खरीद गर्न खोजेका छन् भने केहीले फोनको डिजाइन र ट्रम्पका टाइपिङ शैलीको मजाक उडाएका छन् ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  १० : ५० बजे