नेपाली महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डसँग अखिल नेपाल फुटबल संघ (एन्फा) ले उज्वेकिस्तान भ्रमणका क्रममा देखिएको विवादबारे स्पष्टिकरण माग गरेको छ ।
एएफसी महिला एसियन कप छनोटका लागि उज्वेकिस्तान पुगेको टोलीमा कप्तानी चयनसम्बन्धी विवाद बाहिरिएपछि एन्फाले प्रशिक्षक वाइल्डलाई पत्र पठाएर घटनाको विवरण माग गरेको हो । तर एन्फा प्रवक्ता सुरेश शाहका अनुसार प्रशिक्षक वाइल्डले हालसम्म कुनै औपचारिक जवाफ दिएका छैनन् । “हामीले सचिवालयबाट पत्र पठाएका थियौं, तर अहिलेसम्म कुनै जवाफ आएको छैन,” शाहले भनेका छन् ।
यद्यपि वाइल्डले उज्वेकिस्तानमा हुँदा तीन पृष्ठ लामो पत्र पठाउँदै व्यवस्थापन, खेलाडी सुविधा र एन्फाको हस्तक्षेपप्रति गम्भीर असन्तुष्टि जनाएका थिए । कप्तान चयनमा भएको असमझदारीलाई लिएर उनले आफूले साम्बालाई कप्तान बनाएको तर व्यवस्थापक र हेड अफ डेलिगेट्सले फरक निर्णय लिएको आरोप लगाएका छन् ।
टोली नेपाल फर्किएपछि म्यानेजर विन्द्रा देवान, हेड अफ डेलिगेट्स सरिला श्रेष्ठ, सहायक प्रशिक्षक राजेन्द्र तामाङ, गोलकिपिङ प्रशिक्षक सुरज श्रेष्ठलगायतले पत्रकार सम्मेलन गर्दै वाइल्डकै कारण विवाद भएको दाबी गरेका थिए । उनीहरूले सामूहिक रूपमा वाइल्डले व्यवस्थापनसँग सहकार्य नगरेको आरोप समेत लगाएका थिए ।
हेड अफ डेलिगेट्स श्रेष्ठका अनुसार खेल सुरु हुनुभन्दा ९० मिनेटअघि नै कप्तानको नाम दिनुपर्नेमा प्रशिक्षक वाइल्डले अन्तिम ५ मिनेटमा पनि नाम नदिएको आरोप लगाएकी थिइन् । उनले सिनियारिटीको आधारमा रेनुका नगरकोटेलाई कप्तान बनाएको र त्यसमा कुनै राजनीति नरहेको दाबी गरेकी छन् ।
यता प्रशिक्षक वाइल्डले भने व्यवस्थापन पक्षले आफ्नो निर्णय उल्ट्याएको, हस्तक्षेप गरेको र त्यसकै कारण ड्रेसिङ रुमको माहोल बिग्रिएको दाबी गर्दै व्यवस्थापन सुधार नभएसम्म नेपाल नफर्कने चेतावनी दिएका छन् ।
एन्फाले प्रशिक्षकको आधिकारिक जवाफको प्रतीक्षा गरिरहेको जनाएको छ । वाइल्डसँगको सम्झौता अझै एक वर्ष बाँकी रहेको र उनी नेपाल फर्किएपछि मात्रै अगाडिको निर्णय लिने तयारीमा एन्फा रहेको छ ।









