नेपालकी कराते खेलाडी एरिका गुरुङले युएस ओपन कराते च्याम्पियनसिपमा स्वर्णसहित दुई पदक जितेकी छन् । उनले टेक्सासमा भएको च्याम्पियनसिपमा यू-२१ को ६८ केजी तौल समूहमा स्वर्ण जितेकी हुन् भने मुख्य प्रतिस्पर्धामा रजत पदक हात पारेकी छन् ।
एरिकाले यू-२१ को फाइनलमा क्यानडाकी खेलाडीलाई ९-० ले पराजित गरिन् । यस्तै सिनियर इलिटको प्रतिस्पर्धामा भने एरिका फाइनलमा पराजित भइन् । उनले अमेरिकाकी खेलाडीसँग ३-२ को पराजय भोग्दा रजत जितिन् ।
एरिका नेपालका लागि एसियाली खेलकुदमा करातेबाट रजत जित्ने खेलाडी हुन् । उनले गत असोजमा चीनमा भएको एसियाली खेलकुदमा ऐतिहासिक रजत जितेकी थिइन् ।
प्रतियोगितमा भाग लिएका अर्का नेपाली खेलाडी विप्लवलाल श्रेष्ठ सेमिफाइनलबाट बाहिरिए । प्रतियोगितामा भाग लिन एरिका र विप्लवसहित प्रशिक्षकद्वय कुशल श्रेष्ठ र दीपक श्रेष्ठ अमेरिका गएका थिए ।