२ कार्तिक २०८२, शनिबार | Sat Oct 18 2025

राष्ट्रपति ट्रम्पमाथि पदको आडमा व्यवसाय बढाएको आरोप



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प शुक्रबार स्कटल्याण्ड प्रस्थान गरेका छन् । उक्त भ्रमणलाई ह्वाइट हाउसले “कार्य भ्रमण” भने तापनि, यसले फेरि एक पटक राष्ट्रपति ट्रम्पले आफ्ना व्यवसायिक सम्पत्तिहरूलाई राष्ट्रपति पदको आडमा प्रवर्द्धन गर्ने प्रवृत्तिको पुनरावृत्ति गरेको देखिन्छ ।

सीएनएनका अनुसार ट्रम्प स्कटल्याण्डमा रहेका आफ्ना दुई गोल्फ क्लबमा जान लागेका छन् । उनले पहिलो चरणमा ट्रम्प टर्नबेरी गोल्फ रिसोर्टमा गोल्फ खेल्ने कार्यक्रम छ भने दोस्रो चरणमा अबर्डिनशायरस्थित ट्रम्प इन्टरनेशनल स्कटल्याण्डमा दोस्रो १८ होल गोल्फ कोर्सको उद्घाटन तथा रिबन काट्ने कार्यक्रम तय गरिएको छ ।

यसैबीच, ट्रम्प बेलायती प्रधानमन्त्री कियर स्टारमर र युरोपेली संघ प्रमुख उर्सुला भन डर लायनसँग भेटघाट गर्ने कार्यक्रम पनि रहेको छ । यद्यपि आलोचकहरू भन्छन् कि ट्रम्पले ह्वाइट हाउसको सुविधा प्रयोग गरी आफ्ना निजी व्यवसायहरूलाई बढावा दिइरहेका छन् ।

ट्रम्पको पहिलो कार्यकालमा उनले सञ्चालन गरेको वाशिङटन डीसीस्थित ट्रम्प होटल विदेशी प्रतिनिधिमण्डलको खर्च गर्ने प्रमुख गन्तव्य बनेको थियो, जसले निकै आलोचना खेपेको थियो । सन् २०१९ मा उनले आफ्नो डोराल, फ्लोरिडा रिसोर्टमा जी७ सम्मेलन आयोजना गर्ने योजना आलोचनापछि फिर्ता लिएका थिए ।

तर दोस्रो कार्यकालमा ट्रम्पले अझै खुलेर विदेशी उपहार तथा व्यापारिक लाभ लिने नीति अख्तियार गरेको देखिन्छ । उनले क्रिप्टो कारोबार, निजी क्लबहरू, ट्रम्प ब्रान्डेड सामानहरूजस्ता स्रोतबाट करोडौं डलर आम्दानी गरेका छन् ।

सबैभन्दा विवादास्पद घटनामध्ये एक हो, कातार सरकारबाट ट्रम्पले उपहारस्वरूप प्राप्त गरेको विलासी बोइङ ७४७ विमान, जुन उनले आफ्नो राष्ट्रपति पुस्तकालयमा समावेश गर्ने बताएका छन् । आलोचकहरूले यसलाई अमेरिकी संविधानको “Foreign Emoluments Clause” को उल्लङ्घन भनेका छन् ।

तर ट्रम्पले आलोचनालाई खण्डन गर्दै भने, “त्यो एक महान् उपहार हो, म यस्तो प्रस्ताव अस्वीकार गर्ने मूर्ख होइन ।”

ट्रम्प संगठनका अनुसार, यद्यपि ट्रम्प स्वयं दैनिक व्यवस्थापनमा संलग्न छैनन्, तर उनी कम्पनीका स्वामी रहेकै छन् । यसपालि भने संगठनले विदेशी सरकारसँग नयाँ सम्झौता नगर्ने भए तापनि अन्य विदेशी साझेदारहरूसँग व्यापारिक विस्तार गरिरहेको छ । हालै कतारमा ट्रम्प नामबाट नयाँ गोल्फ कोर्स निर्माणको घोषणा गरिएको छ ।

साउदी अरबको सरकारी लगानी कोषद्वारा सञ्चालित एलआइभी गोल्फसँग ट्रम्पको सहकार्यले पनि थप विवाद उत्पन्न गरेको छ ।

ट्रम्पले आफूलाई “सबैभन्दा प्रगतिशील क्रिप्टो समर्थक राष्ट्रपति” का रूपमा चित्रण गरेका छन् । उनले र उनकी पत्नी मेलानियाले व्यक्तिगत ‘मेमे कोइन्स’ समेत सार्वजनिक गरेका छन् । ‘ट्रम्प डलर’ नामक टोकनको मूल्य अप्रिलमा तीव्र वृद्धि भयो, जब ट्रम्पले शीर्ष लगानीकर्तालाई निजी डिनर र भीआइपी कार्यक्रममा आमन्त्रण गर्ने घोषणा गरे ।

अमेरिकी मिडिया रिपोर्ट अनुसार, उक्त क्रिप्टोमार्फत ट्रम्प परिवारले ३२० मिलियन डलरभन्दा बढी शुल्क आर्जन गरेको देखिन्छ ।

अहिले ट्रम्पले स्कटल्याण्डमा निर्माण गरेको दोस्रो गोल्फ कोर्सको नाम आफ्नी आमाको नाममा “म्याकलेओड कोर्स” राखिएको छ । यसअघि अबर्डिनशायरको यस्तै एक गोल्फ प्रोजेक्ट ट्रम्पविरुद्धको न्यूयोर्क राज्यको ठगी मुद्दाको हिस्सा बनेको थियो, जहाँ उनले घरको संख्या फुलाएर देखाएको आरोप लागेको थियो । तर ट्रम्प भने अझै पनि आफ्नो गोल्फ सम्पत्तिप्रति आशावादी छन् । “मलाई लाग्छ यो अहिलेसम्मको सबैभन्दा उत्कृष्ट गोल्फ कोर्स हो,” उनले भने ।

प्रकाशित मिति : १२ श्रावण २०८२, आइतबार  ९ : ४७ बजे