सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा प्रहरीको गोली लागेर एक ३५ वर्षीय युवक लालु यादवको ज्यान गएको छ । प्रहरीले भारततर्फ मदिरा तस्करी हुन लागेको सूचना पाएपछि घटनास्थलमा पुगेको थियो । तर, स्थानीयहरू र मृतकका आफन्तले प्रहरीले अनावश्यक रुपमा गोली चलाएर हत्या गरेको आरोप लगाएका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतका अनुसार झडप भएको अवस्थामा स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्दा गोली लागेर लालुको मृत्यु भएको हो । बस्नेतले भने, “आत्मरक्षाका लागि चार राउन्ड फायर गरिएको थियो । एक गोली तिघ्रामा लाग्दा रक्तश्राव भएर बाटामै मृत्यु भयो ।”
तर, स्थानीय वडाध्यक्ष जितेन्द्रकुमार यादवले प्रहरीकै लापरबाही र योजना अनुसारको बल प्रयोगका कारण लालुको मृत्यु भएको दाबी गरेका छन् । उनका अनुसार घटनास्थलमा प्रहरी र सशस्त्रको नियमित चौकी रहँदा पनि जिल्लाबाट इन्स्पेक्टरको टोली आइपुग्नु शंकास्पद छ । उनले भने, “सामान्य मदिराको विषयमा प्रहरी ‘सिंघम’ बन्न खोज्दा निर्दोष युवकको ज्यान गएको हो ।”
मंगलबार राति इन्स्पेक्टर वीरेन्द्रकुमार यादवको नेतृत्वमा १० जना प्रहरीको टोली जिल्लाबाट बिना सूचना कमलपुर पुगेको थियो । स्थानीय प्रहरीलाई जानकारी नदिई अचानक छापा मार्दा विवाद सुरु भएको बताइएको छ । त्यही क्रममा गोली प्रहार हुँदा लालुको ज्यान गएको हो ।
सामान्य विवादकै क्रममा गोली चलाउनु आत्मरक्षा होइन, अनावश्यक बल प्रयोग भएको मृतकका परिवारको आरोप छ । प्रहरीले अनावश्यक गोली चलाएर हत्या गरेको भन्दै स्थानीयहरू बुधबार विरोध प्रदर्शनमा उत्रिएका थिए ।
विरोध प्रदर्शनपछि वडाध्यक्षसहित स्थानीय प्रतिनिधिहरूले प्रमुख जिल्ला अधिकारी (सीडीओ) भोला दाहाललाई ज्ञापनपत्र बुझाउँदै दोषी इन्स्पेक्टरलाई निलम्बन गर्न, मृतक परिवारलाई क्षतिपूर्ति दिन र निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।
यस घटनालाई लिएर पूर्व एआईजीसहित सुरक्षा विज्ञहरूले प्रहरीको कार्यशैलीमाथि प्रश्न उठाएका छन् । उनीहरूका अनुसार, सीमावर्ती क्षेत्रमा मदिरा तस्करी नयाँ विषय होइन । तर, सामान्य परिस्थितिमा पनि गोली प्रहार गर्नु प्रहरीको रणनीतिक कमजोरी हो ।
तराई मधेसमा यसरी मदिरा जन्य विवादमा मारिएको यो पहिलो घटना होइन । पछिल्ला तीन वर्षमा मधेस प्रदेशमा मदिरा नियन्त्रणका क्रममा तीन जनाको ज्यान गइसकेको छ । १६ मंसिर २०८० मा सिरहामा सशस्त्र प्रहरीका सई लक्ष्मणप्रसाद यादवको मदिरा तस्कर समूहको गाडीले ठक्कर दिँदा मृत्यु भएको थियो । त्यस्तै, १३ भदौ २०७९ मा सिरहाकै लगडिगोठमा एसएसबीका हेड कन्सटेबल देवराज शर्माको स्कर्पियोले किचेर हत्या गरिएको थियो ।
बिहारमा मदिराको उत्पादन, बिक्री र सेवनमा पूर्ण प्रतिबन्धपछि नेपालबाट तस्करी बढेको छ । यसले नेपाल–भारत दुबै देशको सीमावर्ती सुरक्षामा चुनौती थपेको छ । सशस्त्र प्रहरीका अनुसार, गत वर्ष काठमाडौंमा सम्पन्न सीमा सुरक्षा बैठकमा भारतीय पक्षले बारम्बार मदिरा नियन्त्रणको विषय उठाएको थियो ।
सशस्त्र प्रहरी स्रोतका अनुसार, भारतले नेपालको सीमावर्ती क्षेत्रमा घरेलु मदिरा उत्पादन रोक्न कूटनीतिक दबाबसमेत दिँदै आएको छ । उता, भारतबाट नेपालतर्फ लागुऔषधको तस्करी भइरहेको भन्दै नेपाल प्रहरीले यो विषयलाई अन्तरसम्बन्धित अपराधको रूपमा हेर्दै आएको छ ।








