२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

विदेशमा कागजातविहीन नेपाली कामदारको वैधानिकीकरण प्रक्रिया सुरु



विदेशमा विभिन्न कारणले कागजातविहीन भई ‘अवैधानिक’ रूपमा रहेका नेपाली कामदारलाई वैधानिक बनाउने प्रक्रिया अघि बढेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विदेशस्थित नेपाली दूतावासमार्फत श्रमिकलाई वैधानिकीकरण गरी श्रम स्वीकृति दिने कार्य प्रारम्भ गरेको हो।

सरकारको निर्देशनअनुसार विदेशस्थित नेपाली दूतावासहरूले वैधानिकीकरण श्रम स्वीकृति प्रदान गर्ने प्रक्रिया अघि बढाएका छन्। यसअन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीस्थित नेपाली दूतावासले ३ साउन २०८२ मा औपचारिक कार्यक्रममार्फत ‘दूतावास स्तरीय श्रम वैधानिकीकरण सेवा’ सुरु गरेको हो। बिदाको दिन समेत सेवा प्रवाह गर्दै श्रमिकलाई थप सहजता दिन लक्ष्य राखिएको दूतावासले जनाएको छ।

दूतावासका श्रम सहचारी पंकजलाभ कर्णका अनुसार हालसम्म १६–१७ जनाले श्रम स्वीकृति लिइसकेका छन्। सेवा सुरु भएको पहिलो दिन तीन पुरुष र दुई महिलाले सेवा लिएका थिए।

सेवा लिन इच्छुकले सामाजिक सुरक्षा कोष र बीमा शुल्क आफैं तिरेर आवश्यक फारम भरी बायोमेट्रिकका लागि दूतावासमा उपस्थित हुनुपर्ने कर्णले बताए। हाललाई यो सेवा प्रत्येक महिना पहिलो र तेस्रो शनिबार उपलब्ध हुने उनले जानकारी दिए।

प्रकाशित मिति : २६ श्रावण २०८२, आइतबार  १० : २४ बजे