२ बैशाख २०८३, बुधबार | Thu Apr 16 2026

सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछानेको जमानत निवेदन अदालतबाट अस्वीकार



सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तत्काल रिहा नहुने भएका छन् ।

लामिछानेले आफ्नो भागको बिगोबमोजिम २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत बुझाएर मुद्दाबाट छुटकारा खोजेका थिए । तर जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले सोमबार सुनुवाइपछि उनको निवेदन अस्वीकार गर्दै तत्काल रिहा गर्न नमिल्ने आदेश दिएको हो ।

अदालतको आदेशमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ दुवै कार्यान्वयन हुन नसक्ने अवस्था रहेको उल्लेख छ । साथै, लामिछानेको हकमा बिगो नै यकिन नभइसकेको, साक्षी तथा प्रमाण बुझ्ने कार्य बाँकी रहेको, र कानुनी आधार नपुगेको कारण देखाउँदै जमानतमा रिहा गर्न नमिल्ने ठहर गरिएको हो ।

यसअघि जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । तर उक्त आदेश उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बदर गर्दै लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो, जुन आदेश सर्वोच्च अदालतले पनि सदर गरिसकेको छ ।

सुप्रिम सहकारी प्रकरणमा १० करोड ९९ लाख ३६ हजार रुपैयाँ ठगी गरेको आरोपमा लामिछानेसहितका प्रतिवादीविरुद्ध सहकारी ऐन, २०७४ र संगठित अपराध निवारण ऐन, २०७० अनुसार सजायको मागदाबी गरिएको छ ।

रुपन्देही जिल्ला अदालतले लामिछानेको मुद्दामा छिटोछरितो न्याय निरूपण गर्नुपर्ने भन्दै यथाशीघ्र कारबाही अघि बढाउन आदेश दिएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८२, सोमबार  १० : ३५ बजे