३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

मेलानिया ट्रम्पद्वारा हन्टर बाइडेनविरुद्ध १ अर्ब डलरभन्दा बढीको मुद्दा दायर गर्ने चेतावनी



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी पत्नी तथा पहिलो महिला मेलानिया ट्रम्पले हन्टर बाइडेनमाथि मानहानीको आरोप लगाउँदै १ अर्ब डलरभन्दा बढी क्षतिपूर्ति माग गर्ने चेतावनी दिएकी छन् ।

पूर्व राष्ट्रपति जो बाइडेनका छोरा हन्टरले यसै महिना भएको एक अन्तर्वार्तामा मेलानियालाई उनको पति डोनाल्ड ट्रम्पसँग यौन अपराधी जेफ्री एप्सटिनले परिचय गराएको दाबी गरेका थिए । मेलानियाका वकिलहरूले उक्त दाबीलाई “झूठो, अपमानजनक, मानहानीपूर्ण र भडकाउने” भनेका छन्।

सो दाबी खारेज गर्दै मेलानियाका कानुनी प्रतिनिधिहरूले हन्टरलाई माफी माग्न र दाबी फिर्ता लिन माग गरेका छन्, अन्यथा १ अर्ब डलरभन्दा बढी क्षतिपूर्ति दाबी गर्दै मुद्दा दायर गर्ने चेतावनी दिएका छन्। उनीहरूका अनुसार यस दाबीका कारण मेलानियाको वित्तीय र प्रतिष्ठागत क्षति भएको छ।

हन्टर बाइडेनले उक्त दाबी पत्रकार माइकल वुल्फको पुस्तकमा उल्लेख भएको जानकारीको आधारमा गरेको बताइए पनि, मेलानियाको कानुनी टोलीले त्यसलाई प्रमाणविहीन र मानहानीपूर्ण भनेका छन्। यसअघि अमेरिकी समाचार साइट डेली बिस्टले पनि यस्तै दाबी समेटेको समाचार प्रकाशन गरेको थियो, तर मेलानियाको कानुनी आपत्तिपछि उक्त समाचार हटाएर माफी मागेको थियो।

मेलानियाले १९९८ नोभेम्बरमा एक मोडलिङ एजेन्सीको संस्थापकद्वारा आयोजित पार्टीमा ट्रम्पलाई पहिलो पटक भेटेको बताउँदै आएको छ। त्यतिबेला ट्रम्प आफ्नो दोस्रो पत्नी मार्ला म्यापल्ससँग छुट्टिएका थिए।

यो कानुनी चेतावनी अमेरिकी राजनीतिमा एप्सटिनसम्बन्धी ‘फाइल’ सार्वजनिक गर्ने दबाबबीच आएको हो। राष्ट्रपति ट्रम्पले पुनः निर्वाचित भएमा ती फाइल सार्वजनिक गर्ने वाचा गरेका थिए, तर एफबीआई र न्याय विभागले कुनै पनि ‘अपराधी ग्राहक सूची’ नभएको बताइसकेका छन्।

प्रकाशित मिति : ३० श्रावण २०८२, बिहिबार  ११ : ११ बजे