१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

पर्सामा हैजा महामारी, समुदायस्तरमै फैलियो



पर्सामा हैजा समुदायस्तरमै फैलिएको चिकित्सकहरूले बताएका छन् । करिब एक सातादेखि फैलिएको संक्रमण अझै नियन्त्रणमा आउन सकेको छैन ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म वीरगन्ज महानगरपालिकामा ६२४ जना र पोखरियामा १२ जनामा हैजा देखिएको छ । पछिल्लो २४ घण्टामा मात्र ८८ जना नयाँ बिरामी थपिएका छन् । संक्रमितमध्ये ४ वर्षमुनिका २४ बालबालिक र ३ जना गर्भवती महिलासमेत रहेका छन् ।

हैजाका कारण वीरगन्ज अस्तव्यस्त बनेको छ । पातलो दिसा, बान्ता, पेट दुखाइ, मिर्गौलामा समस्या र अर्धचेतजस्ता लक्षणसहित दैनिक करिब ५० जना बिरामी नारायणी अस्पताल पुगिरहेका छन् । अस्पताल बिरामीले भरिभराउ हुँदा शय्या नपुगेपछि भुइँमा राखेर उपचार गर्नुपरेको छ ।

अस्पतालका निर्देशक डा. चुमनलाल दासका अनुसार हैजा तथा झाडापखालाका लागि छुट्याइएका ३४ शय्या भरिएपछि बाध्य भएर भुइँमै राखेर उपचार भइरहेको छ । उनका अनुसार हालसम्म २७१ जना उपचारपछि घर फर्किसकेका छन् भने ६२ जना अझै उपचाररत छन् । तीमध्ये ६ जनाको आईसीयूमा उपचार भइरहेको छ ।

डा. दासका अनुसार भर्ना भएका १२ जनाको दिसा परीक्षण (कल्चर) गर्दा हैजाको जीवाणु भेटिएपछि नयाँ आउने सबै बिरामीलाई भर्ना गरेर उपचार गर्न थालिएको हो ।

हैजा फैलनुको कारण अझै स्पष्ट भएको छैन । तर एकैपटक धेरैमा देखिएकाले दूषित पानीबाट फैलिएको हुनसक्ने आशंका गरिएको छ । संक्रमण नियन्त्रणका लागि वीरगन्ज महानगरले भदौ १३ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

महाशाखाका प्रमुख डा. चन्द्र भाल झाले समुदायस्तरमै हैजा फैलिएको भन्दै बिरामीको पहिचान, परीक्षण र उपचारसँगै जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयले पानीका नमूनाहरू संकलन गरी प्रयोगशालामा हैजा जीवाणु परीक्षणका लागि पठाएको छ । साथै पिउने पानी उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र प्रयोग गर्न, व्यक्तिगत तथा खानेकुराको सरसफाइमा ध्यान दिन, खुला दिसा नगर्न, चर्पी प्रयोग गर्न र साबुनपानीले नियमित हात धुन आग्रह गरेको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहिबार  १० : १७ बजे