९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

सोलुखुम्बुको थामेमा फेरी बाढी, पाँच घर बगायो



सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामेमा आएको बाढीले पाँच घर बगाएको छ। आइतबार रातिदेखिको अविरल वर्षाका कारण थामे खोलामा पानी थुनिएर बनेको ताल ओभरफ्लो हुँदा बाढी आएको गाउँपालिकाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक मनोजीत कुँवरका अनुसार खोलाको पानी अचानक धार परिवर्तन गर्दै बग्दा तटीय क्षेत्रमा कटान भएको छ। प्रभावित क्षेत्रका बासिन्दालाई पहिले नै सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति भने हुन पाएन।

नेपाल प्रहरी र नेपाली सेनाको टोली प्रभावित क्षेत्रमा पुगेर अनुगमन र आवश्यक सहायताका लागि निगरानी गरिरहेको प्रहरीले जनाएको छ।

गाउँपालिकाका अनुसार बाढीले बिजुलीका पोल ढाल्दा विद्युत् प्रसारण लाइन र सञ्चार सेवा अवरुद्ध भएको छ। निरन्तर वर्षा भइरहेकाले थप क्षति हुन सक्ने भन्दै गाउँपालिकाले थामेसहित तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

गत वर्ष भदौमा पनि थामेमा आकस्मिक बाढी आउँदा २० भन्दा बढी घर बगाएको थियो । दोलखा र सोलुखुम्बुको सिमाना भई बग्ने थामे खोलामा एक्कासि बाढी आएको थियो ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  १० : २० बजे