रुसी राष्ट्रपति पुटिनसँग भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शाङ्घाई सहयोग संगठन (एससीओ) को पूर्ण सदस्यका रुपमा प्रवेश पाउन आतुर रहेको बताएका छन् । सोमबार चीनको तियानजिनमा आयोजित एससीओ शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले सन् २०१६ देखि संवाद साझेदार रहेको नेपाल अब पूर्ण सदस्य बन्न चाहेको स्पष्ट पारे ।
क्षेत्रीय सहकार्यप्रतिको नेपालको प्रतिबद्धता दृढ रहेको भन्दै प्रधानमन्त्री ओलीले एससीओ सदस्य राष्ट्रहरूसँगको सम्बन्धलाई अझ बलियो बनाउन नेपाल इच्छुक रहेको बताए । ‘सबै संयुक्त रूपमा काम गर्न प्रतिबद्ध भए मात्रै सुदृढ र समृद्ध एससीओ सबैको पहुँचमा हुनेछ,’ उनले भने ।
सम्बोधनका क्रममा उनले क्षेत्रीय सुरक्षा, आतंकवाद नियन्त्रण र जलवायु परिवर्तनको जोखिमबारे चिन्ता व्यक्त गरे । आतंकवादले समाजबाट सुरक्षा र अवसर खोस्ने बताउँदै ओलीले यसविरुद्ध संयुक्त प्रयास अपरिहार्य भएको बताए । उनले हिमाललाई मुटुमा बोकेको मुलुक नेपाल जलवायु परिवर्तनको गहिरो असर महसुस गरिरहेको उल्लेख गरे ।
यसैबीच प्रधानमन्त्री ओलीले रुसका राष्ट्रपति भ्लादिमीर पुटिनसँग पनि साइडलाइन भेटवार्ता गरेका छन् । भेटमा नेपाल–रुस सम्बन्धलाई थप सुदृढ बनाउने, संस्कृति, व्यापार र लगानीका क्षेत्रमा सहयोग बढाउने विषयमा छलफल भएको प्रधानमन्त्री ओलीले जानकारी दिएका छन् ।
त्यस्तै, शिखर सम्मेलनकै क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, कम्बोडियाका प्रधानमन्त्री सोमदेक मोहा बोरभोर तिपाहदे, लाओसका राष्ट्रपति थोल्ङलौन सुसौलि, भियतनामका प्रधानमन्त्री फाम मिन चिङ तथा माल्दिभ्सका राष्ट्रपति मोहमद मिज्जुललगायत नेताहरूसँग पनि भेटवार्ता गरेका छन् ।








