८ भाद्र २०८३, सोमबार | Tue Aug 25 2026

देशभर जेनजी प्रदर्शनमा मारिनेको संख्य २० पुग्यो, गृहमन्त्री लेखकले पद त्याग्ने घोषणा



देशभरि भएको जेनजी आन्दोलनमा सरकारी दमनका क्रममा २० जनाको ज्यान गएको छ। तीमध्ये मात्र काठमाडौंमा १८ जनाको मृत्यु भएको छ।

राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै ८ जनाको मृत्यु भएको छ । अस्पताल प्रशासनका अनुसार मृतकमध्ये ५ जनाको पहिचान भइसकेको छ ।

ग्लोबल कलेजमा अध्ययनरत १९ वर्षीय श्रीयाम चौलागाईं, बाँकेका २१ वर्षीय सुलभराज श्रेष्ठ, कीर्तिपुरका ४२ वर्षीय बुद्धि तामाङ, वर्ष नखुलेका गौरव जोशी र स्टप अधिकारीको मृत्यु भएको जनाइएको छ। उनीहरू सबै गम्भीर घाइते अवस्थामा अस्पताल ल्याइएका थिए र उपचारकै क्रममा ज्यान गएको हो । बाँकी तीन जनाको अझै सनाखत हुन सकेको छैन ।

यसैगरी, काठमाडौं मेडिकल कलेजमा मृत्यु भएकामध्ये शौरभ किशोर श्रेष्ठ र सुवास पोखरेलको पहिचान भएको छ । यद्यपि, बाँकी १२ जनाको अझै सनाखत भइसकेको छैन।

काठमाडौंका नयाँ बानेश्वरस्थित सिभिल, एभरेस्ट, सिनामंगलस्थित केएमसी अस्पताल, वीर अस्पताल, ट्रमा सेन्टर, टिचिङ अस्पताल र ललितपुरको पाटन अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ ।

यस घटनापछि गृहमन्त्री रमेश लेखकले आफू पदमा नबस्ने घोषणा गरेका छन् । सोमबार साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा उनले ठूलो जनधनको क्षतिको जिम्मेवारी लिँदै राजीनामा गर्ने निर्णय गरेका हुन् ।

‘आजको प्रदर्शनमा ठूलो मानवीय क्षति भयो । मैले त्यसको नैतिक जिम्मेवारी लिनुपर्छ, नैतिकताका आधारमा पदमा बस्दिनँ,’ गृहमन्त्री लेखकले भनेको बताइएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ७ : ५१ बजे