आन्दोलनको सुरुवात गर्ने जेनजी युवाहरूको एक समूहले अन्तरिम सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम अघि सारेका छन् । सामाजिक सञ्जाल डिस्कर्ड मा करिब पाँच घन्टा लामो छलफलपछि कार्कीको नाममा सहमति भएको हो ।
छलफलमा कुलमान घिसिङ, बालेन शाहलगायतका नाम पनि उठे तर अन्ततः ‘कानून र विधिको रक्षा गर्नसक्ने इमानदार छवि’ भएका व्यक्तिको आवश्यकता औंल्याउँदै कार्कीलाई अघि सारिएको सहभागी युवाहरूले बताएका छन् । जेनजी टोलीले कार्कीको नाम लिएर सेनासँग वार्ता समेत सुरु गरिसकेको जानकारी दिइएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल र सेना प्रमुख अशोकराज सिग्देलले मंगलबार साँझ जेनजी प्रतिनिधिलाई वार्ताका लागि आह्वान गरेका थिए । तर जंगी अड्डामा छलफलमा पुगेको जेनजी समूहकी एक सदस्य रक्षा बमले ‘दुर्गा प्रसाईं र राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि वार्ता गर्नुपर्ने भनिएपछि’ आफूहरू बाहिरिएको बताएकी थिइन् । उनले भनिन्, “जेन–जी आन्दोलनको बलिदान र परिवर्तनको यात्रा चरमपन्थी समूहसँगको सम्झौताले तुहिने भएकाले प्रस्ताव अस्वीकार गरिएको” बताइन् ।
यसैबीच, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले पनि कार्कीलाई अन्तरिम सरकार प्रमुखका रूपमा अघि बढाउने प्रस्तावमा समर्थन जनाएको बताइएको छ । तर जंगी अड्डाबाहिर भेला भएका केही युवाले भने कार्कीको नेतृत्वविरुद्ध नाराबाजी गरेका छन् । उनीहरू मध्ये कतिले बालेन शाहकै नाम प्रस्ताव गरेका छन् ।
धरानका मेयर हर्क साम्पाङ पनि बुधबार साँझ काठमाडौं आइपुगेका छन् । उनले सेनाप्रमुखसँग अन्तरिम सरकारबारे छलफल गरेको बताएका छन् । साम्पाङलाई समर्थन गर्दै केही युवाले नाराबाजी गरे भने अर्को समूहले बालेन शाहको पक्षमा उभिएको देखियो ।
राष्ट्र, राष्ट्रियता, धर्म बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले पनि सेनाप्रमुखसँग लामो छलफल गरेको जनाएका छन् । सामाजिक सञ्जालमार्फत उनले “मलाई नेतृत्वको मोह छैन, जेन–जी पुस्ताले अघि सारेको जोसुकै नाम स्वीकार्न तयार छु” भन्दै राष्ट्रिय एकताको आवश्यकता औंल्याएका छन् ।
सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले सेनाले आन्दोलनमा सहभागी सबै पक्षसँग संवाद सहजीकरण गर्ने उद्देश्य रहेको स्पष्ट पारेका छन् ।








