८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

को को माओवादी नेताको घर प्रदर्शनकारीले तोडफोड र आगजनी गरे?



गत भदौ २४ गतेको प्रदर्शनका क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित १९ जनाभन्दा बढी नेताहरूको घरमा तोडफोड, लुटपाट र आगजनी भएको छ । भदौ २३ गतेको जेन-जी प्रदर्शनमा २० जनाभन्दा बढीको मृत्यु भएपछि भोलिपल्टको आन्दोलन थप हिंसात्मक बनेको माओवादी केन्द्रले जनाएको छ ।

माओवादी केन्द्रका अनुसार, आन्दोलनका क्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ललितपुरस्थित खुमलटार निवास र चितवनको घरमा लुटपाट, तोडफोड र आगजनी भएको छ । त्यस्तै, पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष अग्निप्रसाद सापकोटाको निवासमा पनि तोडफोड र लुटपाट गरी पूर्ण रूपमा ध्वस्त पारिएको छ ।

पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनको निवासमासमेत आगजनी, तोडफोड र लुटपाट गरिएको माओवादी केन्द्रले बताएको छ । यसैगरी, उपाध्यक्षहरू कृष्णबहादुर महरा र पम्फा भुसालको घरमा पनि तोडफोड र लुटपाट भएको छ ।

उपमहासचिवहरू वर्षमान पुन र गिरिराजमणि पोखरेलको निवासमा पनि तोडफोड र लुटपाट भएको माओवादी केन्द्रले जानकारी दिएको छ ।

यसबाहेक, केन्द्रीय सदस्यहरू गंगा दाहाल, जीवन आचार्य, रेनु दाहाल, माधव सापकोटा, राजन दाहाल, विशाल खड्का, युवराज भट्टराई, उमेश यादव, कमल बुढाथोकी, र रामनारायण बिडारीको घर तथा गाडीमा समेत तोडफोड र आगजनी गरी क्षति पुर्‍याइएको पार्टीले जनाएको छ । नेता चक्रपाणी खनालको घरमा पनि क्षति भएको बताइएको छ । यो घटनाले राजनीतिक आन्दोलनहरूमा बढ्दै गएको हिंसा र विध्वंशको प्रवृत्तिप्रति गम्भीर चिन्ता उत्पन्न गराएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  १० : १४ बजे