२८ चैत्र २०८२, शनिबार | Sun Apr 12 2026

खर्च कटौती गर्न सरकारले २० प्रतिशत कर्मचारी घटाउने



सरकारले खर्च कटौतीका लागि कर्मचारी संख्या घटाउने तयारी गरेको छ । नयाँ सरकार बनेसँगै सिंहदरबारमा मंगलबार बसेको मुख्यसचिवसहित सबै सचिवहरूको बैठकले संगठन तथा व्यवस्थापन (ओएम) सर्वेक्षण गरेर दरबन्दी घटाउने निर्णय गरेको हो ।

बैठकमा सहभागी एक सचिवका अनुसार संघीय सरकार मातहत रहेका जम्मा दरबन्दीको २० प्रतिशत कटौती गर्ने निर्णय गरिएको छ । मन्त्रालय, सचिवालय, आयोग तथा कार्यालयबाटै कर्मचारी कटौती सुरु गरिने र असोजभित्रै प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने उनले जानकारी दिए ।

अनावश्यक देखिएका निकाय खारेज गर्ने, गाभ्ने वा अन्य निकायलाई हस्तान्तरण गर्ने निर्णय पनि गरिएको छ । सचिवका अनुसार संख्यात्मक हिसाबले १० हजारभन्दा बढी दरबन्दी कटौती हुने अनुमान छ ।

बैठकले अनलाइन सेवा विस्तार गर्ने, खर्च कटौती गर्दै मितव्ययी बन्ने, सरकारी तालिम तथा गोष्ठीहरू सरकारी भवन र हलमै गर्ने र कुनै पनि बैठकमा कर्मचारीले भत्ता नलिने निर्णय गरेको छ । यससम्बन्धी अन्तिम निर्णय भने मन्त्रिपरिषद्ले गर्नेछ ।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  १० : ०५ बजे