हमासको सशस्त्र शाखा कस्साम ब्रिगेड्सले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाइ तस्वीर’ सार्वजनिक गर्दा नेपालका विपिन जोशीको पनि तस्वीर समावेश गरेको छ ।
‘बिदाइ तस्वीर’ भनिए पनि ती बन्दीहरूको अवस्थाबारे स्पष्ट जानकारी दिइएको छैन । टाइम्स अफ इजरायलले यो कदमलाई बन्दीका परिवार र इजरायली सरकारमाथि दबाब दिने प्रयासको रूपमा चित्रण गरेको छ ।
हमासले इजरायलले गरिरहेको स्थलगत र हवाई आक्रमणले बन्दीहरूको जीवन जोखिममा परेको जिकिर गरेको छ । उता, अल जजिराका अनुसार इजरायली सेनाले गाजाको सबैभन्दा ठूलो सहरलाई ध्वस्त पार्ने र नियन्त्रणमा लिने अभियान जारी राखेका बेला हमासले तस्वीर सार्वजनिक गरेको हो ।
शनिबार कस्साम ब्रिगेड्सले अनलाइनमा पोस्ट गरेको संकलित फोटोमा जीवित र मृत दुवै बन्दीहरूको अनुहार देखाइएको छ । सबैलाई ‘रोन अराड’ नाम दिइएको छ । रोन अराड सन् १९८६ मा लेबनानमा हराएका इजरायली वायुसेनाका क्याप्टेन हुन्, जसको वास्तविक अवस्थाबारे अझैसम्म प्रमाणित तथ्य उपलब्ध छैन ।
हमासले तस्वीरसँगै दिएको टिप्पणीमा, “नेतान्याहूको अस्वीकार र सेनाप्रमुख एयाल जामिरको आत्मसमर्पणका कारण, गाजा सिटीमा सैन्य कारबाही सुरु हुने बेलामा यो बिदाइ तस्वीर हो” भनिएको छ । यसले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको हमाससँग सम्झौता नगर्ने अडान र सेनाप्रमुख जामिरको असहमतिको बाबजुद आक्रमण अघि बढाइएको सन्दर्भलाई जोडेको बताइएको छ ।
इजरायली अधिकारीहरूले गाजामा अझै करिब २० बन्दी जीवितै रहेको दाबी गरेका छन् भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले “२० भन्दा कम मात्र जीवित हुन सक्ने” बताएका छन् । नेतान्याहू र ट्रम्प दुवैले “जीवित र मृत सबै बन्दी फर्काइनेछ” भन्दै हमासलाई ध्वस्त पार्ने चेतावनी दिएका छन् ।
हमासले विगतमा नै इजरायली आक्रमणका कारण केही बन्दी मारिएको दाबी गर्दै आएको छ । साथै, बन्दीहरू गाजाका विभिन्न टोल–छिमेकमा ‘छरिएर राखिएका छन्’ भन्ने जानकारी पनि दिएको छ ।
शनिबार लाखौं इजरायली तेल अभिभसहित विभिन्न सहरका सडकमा उत्रेर सरकारको विरोध गर्दै युद्ध अन्त्य गर्न र तुरुन्त सम्झौता गरेर सबै बन्दी फर्काउन माग गरिरहेका बेला हमासले यो सूची सार्वजनिक गरेको हो ।
यसअघि पनि हमासले विभिन्न समयमा इजरायली बन्दीहरूको भिडियो सार्वजनिक गर्दै आएको छ, जसले परिवार, इजरायली अधिकारी, अमेरिकी सरकार र अन्तर्राष्ट्रिय समुदायबीच ठूलो आक्रोश उत्पन्न गरेको थियो ।








