२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

दशैंको मुखमै मुख्य राजमार्ग अवरुद्ध, यात्रु अलपत्र



दशैं नजिकिँदै गर्दा देशका मुख्य राजमार्गहरूमा फेरि पहिरोले अवरोध पुर्‍याएको छ । नारायणगढ–मुग्लिन सडकखण्डको तुइनखोलामा मंगलबार साँझ करिब पाँच बजे ठूलो पहिरो खसेपछि यातायात पूर्णरूपमा ठप्प भएको हो ।

चितवन जिल्ला प्रशासन कार्यालयले तत्काल सडक खोल्न नसकिने भन्दै पूर्वमा महोत्तरीको बर्दिवास र पश्चिममा रूपन्देहीको बुटवल हुँदै वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । त्यसैगरी हेटौंडा, कावासोती, गैंडाकोट, तनहुँको खैरेनीटार र धादिङको नौबिसेमार्ग प्रयोग गर्न पनि प्रशासनले अपिल गरेको छ ।

नारायणगढ–मुग्लिन सडक संघीय राजधानी काठमाडौं र पोखरालाई पूर्व–पश्चिम महेन्द्र राजमार्गसँग जोड्ने मुख्य मार्ग हो । दैनिक १० हजारभन्दा बढी साना–ठूला सवारीसाधन गुड्ने यो सडक गत शुक्रबारदेखि ४५ घण्टा अवरुद्ध भई आइतबार मात्रै खुलेको थियो । तर फेरि ठूलो पहिरो खस्दा यातायात ठप्प भएको हो ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सूचनामार्फत यात्रुलाई अनावश्यक जोखिम मोलेर यात्रा नगर्न अनुरोध गरेका छन् । उनले भने, “हाम्रो अनुरोध छ, ज्यान बचाऔं, यात्रा पछि गरौंला। घुमेरै यात्रा गरौं, बाटो खुल्ने आशामा आफैंलाई हैरानीमा नपरौं ।”

यसैबीच धादिङको बेनीघाट रोराङ गाउँपालिका–१०, जवाङखोला (बाँदरे मोड) मा मंगलबार बिहान खसेको सुक्खा पहिरोका कारण नागढुंगा–मुग्लिन सडक पनि झन्डै १० घण्टा अवरुद्ध रह्यो । बिहान ५:४० बजे खसेको पहिरो पन्छाएपछि बेलुकी सडक दुईतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिए ।

सडक बन्द हुँदा सयौं सवारीसाधन जाममा परेका र यात्रुहरू अलपत्र भएका थिए। पश्चिमतर्फ जाने तथा फर्कने गाडीलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको थियो। मलेखु (फुर्के खोला)–सल्यानटार–गोरखा आरुघाट हुँदै तनहुँ आँबुखैरेनी निस्किने मार्ग प्रयोग गर्न सुझाव दिइएको थियो । तर उक्त खण्डमा करिब दुई किलोमिटर लामो कच्ची सडक अत्यन्तै जीर्ण हुँदा यात्रुले गाडी धकेल्दै पैदल हिंड्नुपर्ने बाध्यता भएको गुनासो गरेका छन् ।

सडकको खाल्डाखुल्डी नपुर्ने हो भने गाडी गुडाउनै नसक्ने अवस्था आउने चालकहरूको गुनासो छ । आँबुखैरेनीबाट पोखरा–पाल्पा हुँदै बुटवल वा मुग्लिन–चितवनतर्फ जाने सकिने भए पनि तुइनखोलाको पहिरो अझै जोखिमपूर्ण रहेको स्थानीय प्रशासनले जनाएको छ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  १० : १३ बजे