पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र निवर्तमान परराष्ट्रमन्त्रीसमेत रहेकी डा. आरजु राणा देउवाको नयाँ राहदानी (पासपोर्ट) उनीहरू उपचाररत स्थानमै बनाएर प्रदान गरिएको खुलेको छ ।
स्रोतका अनुसार ३ असोजमा बनेको नयाँ राहदानीमार्फत देउवा दम्पतीले थाइल्यान्डको भिसा समेत लिइसकेका छन् । स्वास्थ्य उपचारका लागि उनीहरू छिट्टै ब्याङ्कक प्रस्थान गर्ने तयारीमा छन् ।
२४ भदौमा ‘जेन जी’ आन्दोलनका क्रममा अराजक समूहले बुढानीलकण्ठस्थित देउवा निवासमा आक्रमण गर्दा दुवै दम्पती गम्भीर घाइते भएका थिए । तोडफोड र आगजनीसँगै धारिलो हतियार प्रयोग गरिएको आक्रमणमा ८० वर्षीय सभापति देउवा र ‘हिप ट्रान्सप्लान्ट’ गराएकी आरजु राणा दुवैको गर्धनमा चोट लागेको थियो। आक्रमणपछि सार्वजनिक भएका फोटो–भिडिओमा उनीहरू रक्ताम्य अवस्थामा देखिएका थिए ।
स्रोतका अनुसार, आरजु राणा देउवा अझ बढी घाइते भएकी छन्। आक्रमणअघि पनि ‘हिप ट्रान्सप्लान्ट’का कारण उनलाई सामान्य हिँडडुलमा अर्काको सहयोग आवश्यक पर्थ्यो।
२४ भदौको आगजनीमा पुराना राहदानी जलेपछि नयाँ राहदानी आवश्यक परे पनि देउवा दम्पती सुरक्षात्मक र स्वास्थ्य अवस्थाका कारण त्रिपुरेश्वरस्थित राहदानी विभाग पुग्न सक्ने अवस्थामा थिएनन्। त्यसैले विभागका अधिकारीहरूले मोबाइल पासपोर्ट ‘किट’ बोकेर उनीहरू उपचाररत स्थानमै पुगेका थिए।
यो किट विदेशमा घुम्ती शिविरमार्फत राहदानी वितरणका क्रममा प्रयोग हुने विशेष क्यामेरा, ‘फिङ्गर प्रिन्ट’ मेसिन र ई–पासपोर्ट प्रिन्टरसहितको उपकरण हो। यही किटमार्फत दुवैको फोटो खिची, फिङ्गर प्रिन्ट लिएर राहदानी निर्माण गरिएको हो।
स्रोतका अनुसार, गम्भीर घाइते भएकाले मानवीय आधारमा, र कानुनी प्रावधानअनुसार कूटनीतिक राहदानीका लागि योग्य भएकाले दुवैलाई पासपोर्ट प्रदान गरिएको हो।
राहदानी नियमावली–२०७७ को दफा १२ अनुसार पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीले कूटनीतिक राहदानी पाउने व्यवस्था छ। विभागका अनुसार, देउवा दम्पती सरकारी सुरक्षामा उपचाररत भएकाले कानुन अनुसार सुविधा उपलब्ध गराइएको हो।









