हामी नेपालका संयोजक सुदन गुरुङले हिंसा वा कसैको घरलाई निशाना बनाउनु समाधान नभएको बताएका छन्।
पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गुन्डुस्थित निवास घेराउ गर्नुपर्ने प्रचार सोशल मिडियामा फैलिन थालेपछि गुरुङले फेसबुकमार्फत अपिल गर्दै त्यस्तो कार्य नगर्न आग्रह गरेका हुन्।
‘मलाई थाहा छ अहिले भावना तीव्र छ र धेरैलाई निराशा महसुस भइरहेको छ,’ उनले लेखेका छन्, ‘तर हिंसा वा कसैको घरलाई निशाना बनाउनु समाधान होइन।’
शनिबार गुन्डुस्थित आफ्नै निवासमा आयोजित दसैँ भेटघाट कार्यक्रममा ओलीले पनि आफ्नो घरलाई लक्षित गर्दै आक्रमण गर्न उक्साउने गतिविधि सामाजिक सञ्जालमा देखिएको भन्दै सुरक्षा निकाय र सरकारसँग जवाफ मागेका थिए।
‘सामाजिक सञ्जालमा केपी ओलीको नयाँ घर भनेर लोकेट गरिएको छ, कति मिनेटमा पैदल पुगिन्छ, कति मिनेटमा गाडीमा पुगिन्छ भनेर देखाइएको छ। आक्रमण गर्न जाऔँ भनिएको छ। सरकार के हेरेर बसिरहेको छ?’ ओलीको प्रश्न थियो।
यस्तै, संयोजक गुरुङले यस्ता गतिविधिले देशलाई ठूलो क्षति पुर्याउने चेतावनी दिँदै आन्दोलनलाई सकारात्मक रूपमै अघि बढाउनुपर्नेमा जोड दिए। ‘यस्ता कार्यहरूले हाम्रो देशलाई अझै ठूलो क्षति पुर्याउन सक्छ र हामी लडिरहेको सकारात्मक परिवर्तनलाई ओझेलमा पार्न सक्छन्,’ उनले भनेका छन् ।
आगामी निर्वाचन नै आफ्नो शक्ति, एकता र दृष्टि देखाउने अवसर भएको उल्लेख गर्दै गुरुङले अनुशासनपूर्वक तयारी गर्न युवाहरुलाई आग्रह गरे । ‘हाम्रो आन्दोलन आशाको हो, घृणाको होइन । निर्माणको हो, विनाशको होइन । सम्पूर्ण देशलाई देखाऔँ कि जेनजी क्रोधले होइन, बुद्धिमत्ताले नेतृत्व गर्न सक्छ,’ गुरुङले भनेका छन् ।









