१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

आन्दोलनका घाइतेलाई परिचयपत्र दिने, ‘जेन-जी क्लिनिक’ सञ्चालन गरिने



सरकारले हालै जेन-जीको अगुवाइमा भएको आन्दोलन र त्यसपछिका प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचारका लागि काठमाडौँ उपत्यकासहित बाहिर पनि ‘जेन-जी क्लिनिक’ सञ्चालन गर्ने भएको छ ।

घाइते प्रदर्शनकारीहरूको पहिचान, सहज र प्रभावकारी उपचार व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत विभिन्न अस्पतालहरू तोकेर क्लिनिक सञ्चालन गर्न लागिएको गृह मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।

मन्त्रालयका अनुसार, घाइतेलाई तोकिएका अस्पतालमा सहजीकरण गर्न गृह मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय दुवैबाट सम्पर्क व्यक्तिहरू तोकिनेछन् । घाइतेहरूको वर्गीकरण गर्नका लागि उपचारमा संलग्न अस्पतालका विषयविज्ञ चिकित्सकको संयोजकत्वमा एक कार्यदल गठन गरी सम्बन्धित अस्पतालमार्फत कार्य प्रारम्भ गरिनेछ ।

घाइतेको पहिचान तथा प्रभावकारी उपचार व्यवस्थाका लागि असोज १२ गतेदेखि नै गृह मन्त्रालयमा सहायता कक्ष स्थापना गरिएको छ । यस कक्षबाट घाइतेहरूलाई परिचयपत्र वितरण गर्ने व्यवस्था मिलाइएको छ ।

साथै, पुनः जाँच (फलो-अप) मा जानुपर्ने घाइतेहरूका लागि आवतजावतमा सहजता प्रदान गर्न स्वास्थ्य मन्त्रालय र सम्बन्धित अस्पतालले एम्बुलेन्स तोक्ने र त्यसको सम्पर्क नम्बर सार्वजनिक गर्ने तयारी भइरहेको छ । यसरी तोकिएका एम्बुलेन्समार्फत घाइतेहरूले परिचयपत्रका आधारमा निःशुल्क अस्पताल आवतजावत गर्न सक्नेछन् ।

स्मरण रहोस्, गत भदौ २३ र २४ गतेका प्रदर्शनहरूमा ठूलो सङ्ख्यामा प्रदर्शनकारीहरू घाइते भएका थिए । घाइतेमध्ये केहीको विभिन्न अस्पतालमा अझै पनि उपचार जारी रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  ११ : १८ बजे