राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोडेकी समुना श्रेष्ठले जेनजी आन्दोलनमा अनावश्यक जस लिइएको भन्दै आफ्नो पूर्वपार्टीको नेतृत्वप्रति तीव्र आलोचना गरेकी छिन् । फेसबुकमा प्रकाशित लामो पोस्टमार्फत उनले आन्दोलनलाई पार्टीगत एजेन्डा वा अवसरवादको मञ्च बनाउन खोजिएको आरोप लगाएकी छन् ।
श्रेष्ठले लेखेकी छन् कि प्रधानसेनापतिले जेनजी आन्दोलनलाई संबोधन गर्दा ‘रास्वपा’ र ‘दुर्गा प्रसाँई’ पनि स्टेकहोल्डर हुन् भनी उल्लेख गर्दा उनले त्यसविरुद्ध प्रतिवाद गरेको बताइन् । उनले भनिन्, “प्रधानसेनापतिले ‘रास्वपा’ र ‘दुर्गा प्रसाँई’ पनि स्टेकहोल्डर हो भन्ने थाहा पाएपछि मैले प्रतिवाद गरेकै हो ।”
उनले जोड दिँदै बताइन् कि आन्दोलन सुरु हुनुअगाडि नै आन्दोलनरत युवा पुस्ताले कुनै राजनैतिक पार्टीको झण्डा वा एजेन्डा बोकेर नआउनु भनी स्पष्ट निर्देशन दिइसकेको छ। तर त्यसको विपरीत पार्टीगत उपस्थितिले आन्दोलनको निष्पक्षतालाई आघात पुर्याउन सक्ने श्रेष्ठको दावी छ। “जेनजीको आन्दोलनमा हाम्रो सहभागिता देशप्रति निष्ठावान नागरिकको भन्दा बढी थिएन र हुनु हुँदैन थियो,” उनले लेखेकी छन्।
श्रेष्ठले आन्दोलनमा सहभागी भएका शहीद, घाईते र परिवारका पीडितहरुको संवेदनशीलतालाई पनि स्मरण गराइन्। “जस लिँदै गर्दा उजाडिएका काख र सिन्दुर रित्तिएका सिउँदोहरू सम्झिनुहोस्,” उनले लेखिन्। उनले थपिन्, “सहादत प्राप्त ७४ नेपाली वीर-वीरांगना, सयौँ घाईते र लाखौँ नागरिकको सहभागिताको अवमूल्यन हुने गरी त्यतिबेला जंगीअड्डा धाउनु ‘दुर्गा प्रसाँई’ सँगै उभिनु हो र वास्तविक अवसरवादिता सदर गर्नु हो।”
श्रेष्ठले आन्दोलनलाई आफूहरूको व्यक्तिगत एजेन्डा पूरा गर्ने साधन बनाउनु नठिक भन्ने स्पष्ट सन्देश दिएकी छन्। उनले लेखेकी छन्, “हाम्रो पनि एजेन्डा हो, हामी पनि स्टेकहोल्डर हो, हाम्रो पनि माग यिनै हुन भनि धमिलो पानीमा माछा मार्न खोज्ने पृष्ठभूमि बनाउँदै गर्दा ती उजाडिएका काखहरु र सिन्दुर रित्तिएका सिउँदोहरू सम्झिनु होला।”
रास्वपा सभापति रवि लामिछानेलाई समेत लक्षित गर्दै श्रेष्ठले प्रश्न उठाइन् कि आन्दोलनमा ‘नेतृत्व दिएँ’ वा ‘नेतृत्व गरेँ’ भनी दाबी गर्नु कति जायज हो । उनले नख्खु घटनाका क्रममा इज्जत र मानवता क्षतिग्रस्त भएको आरोपसमेत लगाइन् । “यस्तो विषम परिस्थितिमा आफूले नगरेको संघर्ष र आफूले नदिएको नेतृत्व ‘गरेँ’ वा ‘दिएँ’ भन्नु कुन हदसम्मको जनता विरुद्ध गद्दारी र अवसरवाद हो भन्ने प्रश्न अस्वाभाविक हो र?” उनले प्रश्न गरेकी छन् ।









