१८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026

अमेरिकाको मोर्मोन चर्चमा आक्रमण : ४ को मृत्यु, दर्जनौँ घाइते



आइतबार मोर्मोन चर्चमा भएको सशस्त्र आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएको छ भने धेरैजना घाइते भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस घटनालाई ‘राष्ट्रिय हिंसाको महामारी’ को दुःखद उदाहरण बताएका छन्।

स्थानीय प्रहरीका अनुसार आक्रमणकारीले सुरुमा आफ्नै गाडी चर्च भवनमा ठोक्काए। त्यसपछि भवनमा आगो लगाउँदै राइफलले अन्धाधुन्ध गोली चलाएका थिए। आपत्कालीन कल आएको आठ मिनेटमै प्रहरी पुगेको र पार्किङ क्षेत्रमा आक्रमणकारीलाई गोली हानी मारेको प्रहरी प्रमुख विलियम रेनीले जानकारी दिए।

सुरुमा दुई मृतक पुष्टि भए पनि पछि जलेको भग्नावशेषभित्र थप दुई शव भेटिएका छन्। खोज तथा उद्धार कार्य जारी रहेको र घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको रेनीले बताए।

आक्रमणकारीको पहिचान ४० वर्षीय थोमस ज्याकब सानफोर्डका रूपमा भएको छ। अमेरिकी सञ्चारमाध्यमका अनुसार उनी सो क्षेत्रमै हुर्किएका र सैन्य सेवामा संलग्न भइसकेका थिए। आक्रमणपछि चर्च अफ जीसस क्राइस्ट अफ लेटर–डे सेन्ट्स (मोर्मोन चर्च)को अधिकांश भवन खरानीमा परिणत भएको छ।

एफबीआईका विशेष एजेन्ट रुबेन कोलम्यानले यो घटनालाई “लक्षित हिंसाको कार्य” भन्दै अनुसन्धानको नेतृत्व लिइरहेको बताएका छन्। आक्रमणको समयमा चर्चभित्र सयौँ मानिस उपस्थित भएकाले मृतकको सङ्ख्या अझ बढ्न सक्ने आशंका गरिएको छ।

राष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोसल पोस्टमार्फत यस घटनालाई “भयानक” भन्दै अमेरिकामा इसाईहरूमाथि भएको अर्को लक्षित आक्रमणको संज्ञा दिएका छन्। उनले लेखेका छन्, “हाम्रो देशमा हिंसाको यो प्रकोप तुरुन्तै अन्त्य हुनुपर्छ।”

मोर्मोन चर्चले विज्ञप्ति जारी गर्दै यसलाई ‘हिंसाको दुखद कार्य’ बताएको छ। विज्ञप्तिमा भनिएको छ, “पूजास्थलहरू शान्ति, प्रार्थना र सम्बन्धका पुण्य स्थान हुन्। हामी यस घटनाबाट पीडित सबैका लागि शान्ति र चाँडो स्वास्थ्य लाभको प्रार्थना गर्दछौँ।”

सन् १८३० मा स्थापना भएको मोर्मोन चर्च पश्चिमी अमेरिकी राज्य युटाहमा केन्द्रित छ र विश्वभर लाखौँ अनुयायी छन्। यसको सिद्धान्त मोर्मोनको पुस्तकमा आधारित छ।

अमेरिकामा बन्दुक हिंसा लामो समयदेखि गम्भीर चुनौती बनेको छ। हालै युटाहमा दक्षिणपन्थी कार्यकर्ता चार्ली किर्कको हत्या, टेक्सासको संघीय अध्यागमन प्रवर्तन केन्द्रमा गोलीकाण्ड र मिनेसोटाको क्याथोलिक चर्चमा भएको सामूहिक गोलीबारीले सार्वजनिक चिन्ता बढाइसकेका थिए।

पछिल्लो आक्रमणसँगै अमेरिकी राजनीतिक विभाजन अझै गहिरिएको छ। राष्ट्रपति ट्रम्पले वामपन्थी समूहहरूलाई ‘घरेलु आतङ्कवादी’ को रूपमा आरोप लगाउँदै त्यसविरुद्ध कडा अभियान सुरु गर्ने चेतावनी दिएका छन्।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  १० : ५७ बजे