२४ भाद्र २०८३, बुधबार | Wed Sep 9 2026

दसैँ लगतै मनसुनी वायु सक्रिय रहने, विभागको विशेष बुलेटिन



काठमाडौं, असोज १४ — जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मंगलबार ‘दसैँ विशेष मौसम बुलेटिन–२’ जारी गर्दै यस वर्षको दसैँ अवधिभर मनसुनी वायुको प्रभाव रहने जनाएको छ।

विभागका अनुसार हाल मनसुन वायु केही कमजोर भए पनि बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली भारतको ओरिसाबाट जमिनमा प्रवेश गरी मध्य भारततर्फ सर्दै छ। यसको प्रभावसँगै असोज १७ गतेदेखि नेपालमा मनसुनी गतिविधि सक्रिय हुने देखिएको हो।

विभागले जारी गरेको पूर्वानुमान अनुसार:

  • असोज १७ (एकादशी): कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड तथा तराईका केही स्थानसहित अन्य प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना। कोसी, बागमती, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा भारी वर्षा सम्भावना।
  • असोज १८ (द्वादशी): कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा अन्य प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा। सोही प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा।
  • असोज १९ (त्रयोदशी): कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा। कोसी, मधेस, बागमती र गण्डकीका थोरै स्थानमा भारीदेखि धेरै भारी र एक–दुई स्थानमा अति भारी वर्षा सम्भावना।

विभागले दसैँ अवधिभर वर्षा बढ्ने भएकाले बाढी, पहिरो, भूक्षय तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने चेतावनी दिएको छ। साथै, मौसमको अध्यावधिक जानकारी लिएर आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।

प्रकाशित मिति : १४ आश्विन २०८२, मंगलबार  १० : ३० बजे