बंगालको खाडीबाट उत्तर–पश्चिमतर्फ सर्दै गरेको चक्रवात ‘मोन्था’ को प्रभावका कारण देशभर मौसम खराब बनेसँगै हिमाली क्षेत्रमा पदयात्रा गरिरहेका तथा पदयात्रा योजनाबद्ध यात्रुहरूलाई उच्च सतर्कता अपनाउन नेपाल पर्यटन बोर्डले ट्राभल एडभाइजरी जारी गर्दै आग्रह गरेको छ। बोर्डले बुधबार साँझ सार्वजनिक गरेको एडभाइजरीमार्फत आगामी कात्तिक १५ गतेसम्म विभिन्न स्थानमा वर्षा र हिमपातको पूर्वानुमान रहेकाले जोखिमपूर्ण क्षेत्रमा नजाने, यात्रा अघि सुसूचित हुने र आवश्यक तयारीसहित मात्रै यात्रा गर्न सुझाव दिएको हो।
पर्यटन बोर्डका अनुसार चक्रवातको कारण भारी वर्षा, हिमपात, बाढी, पहिरो तथा हिउँपहिरोको जोखिम बढ्ने भएकाले विशेषगरी हिमाली र पहाडी क्षेत्रका भ्रमणकर्ताले उच्च सतर्कता अपनाउन आवश्यक छ। बोर्डले यात्रा अघि र बीचमा मौसम अपडेट नियमितरूपमा लिँदै सम्भावित जोखिम व्यवस्थापनका उपायहरू पूर्वतयारीसहित अपनाउन आग्रह गरेको छ।
एडभाइजरीमा यात्रु र पदयात्रीहरूलाई तल उल्लेखित सावधानीहरू अनिवार्य पालना गर्न अनुरोध गरिएको छः
- मौसममा तीव्र परिवर्तन हुन सक्ने भएकाले नियमित मौसम पूर्वानुमान जाँच गर्ने
- नदी किनार, भिरालो भू–भाग वा पहिरो सम्भावित स्थानमा शिविर नराख्ने
- हिमाली क्षेत्रमा हिउँपहिरोको जोखिम बुझ्ने र स्थानीय सरकार तथा सम्बन्धित निकायले जारी गर्ने सूचनालाई ध्यानपूर्वक पालना गर्ने
- जोखिमयुक्त क्षेत्रमा जानुअघि आवश्यक तालिम, उपकरण, सुरक्षासामग्री तथा सञ्चार साधन सुनिश्चित गर्ने
- यात्रा योजना आफन्त वा सम्बन्धित निकायलाई जानकारी गराई सम्भव भएसम्म सम्पर्कमा रहने
- प्राथमिक उपचार सामग्री, अतिरिक्त खाना–पानी र आपतकालीन सम्पर्क उपकरण साथमा राख्ने
- स्थानीय भौगोलिक अवस्था, भाषा र मौसमबारे जानकार स्थानीय गाइडको सहयोग लिने
- वाटरप्रुफ तथा विन्डप्रुफ कपडा, चिसोका लागि तह–तहमै लगाउने कपडा प्रयोग गर्ने
- अवस्था असुरक्षित देखिएमा यात्रा स्थगित गर्ने वा वैकल्पिक मार्ग रोज्ने
जल तथा मौसम विज्ञान विभागका अनुसार बागमती, मधेश र कोशी प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ। सगरमाथा, कञ्चनजङ्घा र लाङटाङ जस्ता लोकप्रिय पदमार्ग यिनै प्रदेशभित्र पर्ने भएकाले त्यहाँका यात्रुहरूले विशेष सावधानी अपनाउन अपिल गरिएको छ।
गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा, कर्णालीका केही क्षेत्रमा सामान्य वर्षा हुने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा मध्यमदेखि भारी हिमपात हुने पूर्वानुमान छ।
आपतकालीन सहयोगका लागि पर्यटन बोर्डले ‘टुरिस्ट पुलिस’ सेवा तथा टोल–फ्री नम्बर ११४४ मा सम्पर्क गर्न आग्रह गरेको छ। बोर्डले सबै भ्रमणकर्तालाई सुरक्षालाई सर्वोपरि राख्दै केवल आधिकारिक स्रोतबाट प्राप्त सूचना र अपडेटलाई पालना गर्न आग्रह गरेको छ।








