२८ चैत्र २०८२, शनिबार | Sun Apr 12 2026

चक्रवात ‘मोन्था’को प्रभाव शनिबारबाट मौसममा क्रमिक सुधार हुने



हाल नेपालको अधिकांश भूभागमा पानी पारिरहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले मौसमी प्रणालीको असर शनिबार (कात्तिक १५ गते) बिहानदेखि क्रमिक रूपमा सुधार हुँदै जाने प्रक्षेपण गरेको छ ।

बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ हाल भारतको मध्य प्रदेश आसपास ‘न्यूनचापीय क्षेत्र’का रूपमा रहेको र यसको असर नेपालको मौसममा शुक्रबार साँझसम्म रहने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार बिहीबार बेलुका कोसी, बागमती र लुम्बिनी प्रदेशका धेरै स्थान, गण्डकी प्रदेशका केही स्थान तथा मधेस र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार कोसी, मधेस र बागमती प्रदेशका अधिकांश स्थान, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मध्यम वर्षा जारी रहने सम्भावना छ भने कोसी, मधेस र बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना छ भने कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा भारी हिमपातको पनि सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

त्यस्तै मौसममा सुधार नभएसम्म यात्रा गर्दा तथा जोखिमयुक्त क्षेत्रमा सतर्क रहन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, बिहिबार  ११ : ०५ बजे